गगन थापाले खोलेको पुस्तकालयमा मण्डेलादेखि गान्धीसम्म जले

झगडाको कारक बनिन् निर्दोष 'गर्लफ्रेन्ड'

२०७१ साउन ५ गते 
trichandra-campus-8
ज्ञानेन्द्र खड्का
५ साउन, काठमाडौं । आइतबार दिउँसो काठमाडौंको घण्टाघरस्थित त्रि-चन्द्र कलेजको पुस्तकालयमा अनेरास्ववियुका कार्यकर्ता प्रेम केसी पुस्तक पढ्दै बसिरहेका थिए । पुस्तक पढिरहेकै बेला पुस्तकालयमा छिरेका दुईजनाले उनको टाउको र हातमा खुकुरीले हाने । खुकुरी प्रहार भएपछि रक्ताम्य बनेका केसीलाई तत्कालै मोडल अस्पताल दौडाइयो ।
खुकुरीको प्रहार खाएका केसीलाई अस्पताल पुर्याएलगत्तै त्रि-चन्द्रमा अर्को ताण्डवनृत्य शुरु भयो । विद्यार्थी भनिने एक अराजक समूहले त्रि-चन्द्र क्याम्पस परिसरमै रहेको वीपी पुस्तकालयमा आगो झोस्यो । बुढापाकाले विद्यार्थीलाई आशिष दिँदा सरस्वती दाहिना हुन् भन्ने चलन छ । तर, विद्यार्थी भनिनेहरु नै राक्षस अवतारमा देखिए ।
गगन थापाको पुस्तकालयमा मण्डेलादेखि गान्धीसम्म जले
विद्यार्थी तथा नेपाली युवाहरुको आईकन मानिने गगन थापा स्वतन्त्र विद्यार्थी युनियनका सभापति हुँदा ०५६ स्थापना भएको वीपी पुस्तकालय क्षणभरमै खरानीमा परिणत भयो । स्ववियूले संरक्षण गर्दै आएको पुस्तकालयमा करिब ५ हजार पुस्तक थिए ।
तत्कालीन स्ववियु सभापति गगन थापाको पहलमा स्थापना वीपी पुस्तकालयमा रहेका करिब ५ हजार पुस्तक मागेर जम्मा गरिएको थियो । काठमाडौंबाट निस्कने दैनिकदेखि मासिक पत्रिका पनि पुस्ताकालयमा नियमित संग्रह गरिएको थियो ।
‘हिजो जलेका सबै पुस्तक मागेर जम्मा गरिएको हो, विद्यार्थीले समेत त्यहाँ पुस्तक जम्मा गरेका थिए’, त्रि-चन्द्रका पूर्वविद्यार्थी पिताम्बर भण्डारी भन्छन्, ‘पुस्तकालयको नाम वीपी भए पनि त्यहाँ विश्वचर्चित लेखकहरुका पुस्तक संग्रहित थिए, बडो दुःखले बटुलिएका पुस्तक निमेषभरमै खरानी पारियो ।’
पुस्तकालयमा विद्यार्थीले पढिसकेका पुस्तक पनि संग्रहित थिए । त्यसैगरी विद्यार्थीले नै किनेर पनि पुस्तकालयलाई निशुःल्क उपलब्ध गराएका पुस्तक पनि थिए । विभिन्न प्रकाशन गृहले निशुल्क दिएका पुस्तकहरुको त गतिलै संग्रहालय थियो, वीपी पुस्तकालय ।
विद्यार्थीकै हातबाट जलाइएको पुस्तकालयमा महाकवी लक्ष्मीप्रसाद देवकोटादेखि नेलसन मण्डेलासम्मका पुस्तक थिए । पुस्तकालयमा रहेका महात्मा गान्धीको दूलर्भ तथा विश्वचर्चित पुस्तक माइ एक्सपेरिमेन्ट विल टु्रथ र नेल्सन मण्डेलको लङ वाल्कट टु फि्रडम जलेको सुन्दा आफ्नो मन रोएको बताउँछन् पूर्व विद्यार्थी भण्डारी ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र पारिजातको शिरिषको फूललाई पनि आगोले निलेको छ । वीपीको नाममा स्थापित भएकाले पुस्तकालयमा उनले लेखेका साहित्यिक कृति र उनीसँग सम्बन्धित अधिकांश राजनीतिक दस्तावेज पनि संग्रहित गरिएको थियो ।
त्रि-चन्द्रको पुस्तकालयबाट फ्याल्न ठीक्क पारिएका विद्यार्थीहरुका पुराना थेसिस समेत वीपी पुस्तकालयमा जतनका साथ संग्रहित गरिएको थियो । त्रि-चन्द्रको पुस्तकालयमा रहेका दुईवटा भन्दा बढी थेसिसबाट एउटा थेसिस वीपी पुस्तकालयमा राख्ने गरिएको थियो ।
झगडाको कारक बनिन् निर्दोष ‘गर्लफ्रेन्ड’
चालु सेमेस्टरमा अध्ययनका लागि बीएस्सी पहिलो वर्षमा एक छात्रा भर्ना भएकी थिइन् । उनी क्याम्पसमा आएदेखि नै नेवि संघ र अनेरास्ववियु दुबै संगठनका केही कार्यकर्ता उनको पछि लागेका थिए ।
ती छात्राकै विषयलाई लिएर गत बिहीबार दुबै संगठनसँग सम्वद्ध केही विद्यार्थीबीच विवाद भएको थियो । ‘आफूले पछ्याइरहेकी केटीलाई किन पछ्याएको भन्दै बिहीबार केही विद्यार्थीबीच विवाद भएको थियो’, त्रि-चन्द्रकै एक विद्यार्थीले भने, ‘त्यही विषयमा बढेको विवादमा खुकुरी हानियो र अन्ततः पुस्तकालय ध्वस्त पारेपछि टुंगियो । त्यो आगोमा कयौं प्रेम साहित्यसमेत पनि जले ।’
दुबै संगठनका विद्यार्थीहरुले ती छात्रालाई पछ्याए पनि उनी स्वयम्लाई भने आफूलाई पछ्याएको थाहा थिएन । आफ्नो निहुँमा खुकुरी प्रहारदेखि पुस्तकालयसमेत जलाएको थाहा पाएपछि ती छात्रा पनि झस्केकी थिइन् ।
हिलो छ्यापाछाप
पुस्तकालय जलाएपछि दुबै विद्यार्थी संगठनबीच हिलो छ्यापाछ्याप जारी छ । त्रि-चन्द्रमा नेता केसीमाथि नेवि संघका कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप अनेरास्ववियुका नेताहरुले लगाइरहेका छन् । अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले त्रि-चन्द्रमा आफ्ना कार्यकर्तामाथि भएको हमलालाई अराजकताको संज्ञा दिएका छन् ।
नेवि संघका प्रवक्ता युपी लामीछानेले पुस्तकालय जलाइएको घटनामा अनेरास्ववियुका कार्यकर्ता संलग्न भएको दाबी गरेका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment