
च्याङथापु, ओयाम, फलैचाबाट छुटिएका सवारीसाधन भने नवनिर्मित पुलमा रोकिए। दुवैतर्फका यात्रु पुलमा भेला भएर बसेकै बेला मुसलधारे पानी पर्न थाल्यो। एक्जाभेटरलाई पनि काम गर्न कठिन बन्दैथियो। माथिबाट ढुंगा र माटो एकनासले झरीरहेको थियो। यात्रुमा डर उत्पन्न भयो। मोटसाइकल चालकहरु भने रुझ्दै गन्तब्यमा दौडिरहेका देखिन्थे। यी दृश्य सरकारको राष्ट्रिय गौरव आयोजनाको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने ओयामको मुसेपा खोलाको हो।

दसैं मान्न बिहान ७ बजे फिदिमबाट हिँडेकी ममता नेपालीले भनिन्, 'यो खोलामा न घर छ, दिन यहीँ बित्न थालिसक्यो, बाटो बन्ने ठेगान छैन। बीचमा नरोकिएको भए उनी चार घण्टामा घर पुग्थिन्। तर विड्म्बना उनी चार घन्टादेखि एकैठाउँमा बस्न बाध्य भइन्। 'चाउचाउको भरमा छौं, यहाँ के पाइन्छ खानु?,' उनले भनिन्।

यो समस्या ममताको मात्र होइन। मध्यपहाडी लोकमार्गअन्तर्गत गणेश चोकदेखि चिवा भञ्याङसम्मको ६० किलोमिटर कच्ची बाटोको समस्या हो। च्याङ्थापुसम्म वर्षायाममा जबरजस्ती सवारी साधन सञ्चालनमा ल्याइन्छ। धेरै क्षेत्र समेट्ने र धेरै सडक सञ्जालले छोएको चर्चित राजमार्ग भएकाले यस राजमार्गमा बाक्लो गरी सवारी साधन चल्छन्।

दसैंलाई हिलोमैलो पखाली आनन्दसँग मनाउने पर्वको रुपमा मानिन्छ। तर यो क्षेत्रका स्थानीयले जीवन जोखिममा राखेर यात्रा गरिरहेका छन्। वर्षा रोकिएको छैन। ठाँउ-ठाँउमा गाडी फस्ने खाल्डाहरु बनेका छन्। खोलाहरुमा पुल निर्माण भइसकेका छैनन्। पहाडको कच्ची बाटो भएकाले कतै ओरालो कतै उकालो हिँड्न पर्छ। दसैंको रमाइलो गर्न गाउँ जाँदा ज्यानलाई पातमै राखेर यात्रा गर्नुपर्ने अवस्था छ।








तस्बिरहरु: गिरिराज बाँस्कोटा

0 comments:
Post a Comment