विशाल भट्टराईगुल्मी,
साउन १ शायद धेरैलाई भ्रम छ होला गाउँघरमा रहेका स्वास्थ्य चौकीहरु खुल्ने समय दिउँसो २ बजे सम्म मात्रै हो । दिउँसो दुई पछि स्वास्थ्यचौकी पुग्ने सामान्य बिरामीले उपचार पाउँदैनन् । गम्भीर प्रकृतिका बिरामीले दिउँसो तीन बजे सम्म उपचार पाउँछन् । यो सरकारी स्वास्थ्य चौकीहरुका लागि सरकारले तोकेको मापदण्ड हो । तर दुई बजेनै स्वास्थ्य चौकी बन्द गर्ने गरि सरकारले यस्तो मापदण्ड बनाएको होईन् । दुई बजे सम्म बिरामी जाँचेर पाँच बजे सम्म प्रशासनिक काम गर्नका लागि सरकारले यस्तो नियम बनाएको छ । तर जिल्लाभरका सम्पूर्ण स्वास्थ्य चौकीहरु दुई देखि तीन बजेकै बिचमा बन्द हुने गरेका छन् । स्वास्थ्य चौकीका कर्मचारीहरुले ओपिडी र प्रशासनिक काम सँगसँगै गरेर दुई बजेनै स्वास्थ्य चौकी बन्द गरेको गुनासो बढि रेहेको छ । कमसेकम पाँच बजे सम्म स्वास्थ्य चौकीमा मान्छे भएमा गम्भीर बिरामीलाई सानो ठूलो उपचार हुने गाउँलेहरुको भनाई छ । लिम्घा उपस्वास्थ्य चौकीका अहेव चेतनारायण खनालले कुनै कुनै ठाउँमा एकै बजेपनि स्वास्थ्य चौकी बन्द हुने स्विकार्दै आफू चाहीँ त्यसो नगर्ने बताउँछन् । ‘तीन बजे सम्म ओपिडिको काम गर्ने हो पछि प्रशासनिक काम हुन्छ’उनले भने ‘हामी प्राय ४ बजे सम्म स्वास्थ्य चौकीमै हुन्छौँ, कहिले काहीँ पाँच पनि बज्छ ।’उनले जिल्लामा रहेको कुनै कुनै स्वास्थ्य चौकीहरु एकै बजेपनि बन्द हुने बताए । म्यालपोखरी गाविसमा रहेको उपस्वास्थ्य चौकी दिउँसो दुई बजे ठ्याप्पै बन्द हुन्छ । मेहलेपोखरी माध्यमिक बिद्यालयकी शिक्षिका पार्वता कुँवरले आफूहरुको उप स्वास्थ्य चौकी दुई बजेनै बन्द हुने र दुई बजेपछि स्वास्थ्यकर्मीहरु घर फर्कने बताईन् । ‘पाँच जना स्टाफ हुनुहुन्छ, एक पटक गाउँलेहरुले दुई बजे स्वास्थ्यचौकी बन्द गर्न नपाईने भनेर बिरोध पनि गरेका हुन’कुँवरले भनिन् ‘तर स्वास्थ्यकर्मीहरुले दुई बजे सम्म मात्रै आफूहरुको डिउटी भएको प्रतिक्रिया दिनुहुन्छ ।’म्यालपोखरी उपस्वास्थ्य चौकीका प्रमुख डिल्लिराज भट्टराईले जिल्लाभरनै दुई देखि तीन बजेको बिचमा स्वास्थ्यचौकीहरु बन्द हुने ट्रेन बसेकोले आफूहरुले पनि त्यस्तै गर्ने प्रतिक्रिया दिए । दुई बजेनै स्वास्थ्य चौकी बन्द भएको स्विकार्दै उनले आफूले मात्रै पाँच बजे सम्म स्वास्थ्यचौकी खोल्न नसक्ने बताए । यसरी जिल्लाभरमा रहेका सम्पूर्ण सरकारी स्वास्थ्य चौकीहरु दुई बजे बन्द भईरहेका छन् । तर स्वास्थ्य चौकीहरुको नियमन गर्ने निकाय जिल्ला स्वास्थ्य कार्यलयले यसबारे ध्यान पु¥याउन सकेको छैन् । आजभोलि गाउँघरमा दुई बजे पछि स्वास्थ्य चौकीहरु बन्द हुन्छन् भन्ने छाप नै परिसेको छ । रुरु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख बिनय बस्यालले आफूहरुको स्वास्थ्य केन्द्र दिउँसो तीन बजे बन्द हुने जानकारी दिए । ‘मैले अहिले सम्म कुनैपनि जिल्लामा ५ बजे सम्म खुल्ने स्वास्थ्य संस्थाहरु देखेको छैन्, सामान्यतया दुईबजे सबै स्वास्थ्यचौकी बन्द हुन्छन’उनले भने ‘तर हामीले हेल्थ सेन्टर भएकोले तीन बजे सम्म खुल्ला राख्छौँ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश नेपालले बिहान दश देखि साँझ पाँच बजे सम्म कार्यालय समय भएको भएपनि काम सकिएपछि स्वास्थ्य संस्थाहरु बन्द हुने गरेको बताए । उनले पहाडि जिल्लाहरुमा दिउँसो एक बजे सम्म नाम दर्ता गराउने सबैले उपचार पाएपछि स्वास्थ्य चौकीको प्रशासनिक काम हुने र त्यपछि मात्रै स्वास्थ्य चौकी बन्द हुने बताए । ‘कहिले दुई बजे सकिन्छ, कहिले तीन बजे सकिन्छ तर काम सकेपछि मात्रै बन्द हुन्छ’उनले भने ‘कहिलेकाँही बिरामीको चाँप हुँदा साँझ ६ पनि बज्छ ।’ उनका अनुसार प्रशासनिक काम सकिएपछि स्वास्थ्यचौकीहरु बन्द हुन्छन् । यसरी स्वास्थ्य चौकी बन्द भएपछि अकास्मात बिरामी भएकाहरुलाई भने उपचार पाउन गाह्रो छ । अहिले सम्म जिल्लामा साँझ पाँच बजे सम्म स्वास्थ्यचौकी खोल्नका लागि कुनैपनि प्रयास भएको छैन् । सरोकारवालाहरुले यो देशभरिकै समस्या भएको बताउँछन् ।


0 comments:
Post a Comment