नेपाल जापान डट कम सम्बाददाता
पछिल्लो १७ वर्षमा नेपाल यात्रा गर्ने मोदी पहिलो भारतका प्रधानमन्त्री हुन् । त्रिभुवन विमानस्थलमा उनलाई निकै जोशका साथ स्वागत गरिने छ । मोदीको स्वागतका लागि प्रधानमन्त्री कोइराला र नेपाली काँग्रेसका नेता अमरेस कुमार सिंह विमानस्थलमा उपस्थित हुने छन् ।
मोदी दिल्लीबाट नेपाल आउदा नेपाल सरकारले उनलाई गार्ड अफ ओनोर प्रदान गर्ने छ । मोदीसंगै करिब सय जनाको भ्रमण टोली हुनेछ जसमा वरिष्ठ मन्त्री, सरकारी कर्मचारी, व्यवसायीहरुका साथै पत्रकारहरु पनि रहने छन् ।
नेपाल भ्रमणको क्रममा मोदीले राष्ट्रपति डा. रामबरण यादवसंग पनि भेटबार्ता गर्ने छन् साथै प्रधानमन्त्री लगायत शीर्ष नेताहरुसंग पनि भेटबार्ता गर्ने छन् ।
भ्रमणकै क्रममा मोदीले पशुपतिनाथको मन्दिरमा पूजा गर्ने कार्यक्रम पनि रहेको छ । उनी हिन्दु क्यालेन्डर अनुसार श्रावन महिनाको सोमबार ४ अगष्टका दिन मन्दिर जाने छन् ।
मोदी एउटा चार्टड बिमानबाट आइतबार बिहान नेपाल आइपुग्ने छन् । भारतीय विदेश मन्त्रालयका विशेष सूत्रका अनुसार काठमाडौंस्थित भारतीय दूतावासद्वारा आयोजना गरिने एउटा भोजमा पनि मोदी सहभागी हुनेछन् ।
त्यसै दिन प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदी र अन्य आगन्तुकका लागि रात्रिभोजको आयोजना गर्नेछन् ।
स्मरणीय छ, सन् १९९७ मा भारतका तत्कालीन प्रधानमन्त्री इन्द्र कुमार गुजरालले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसयता कुनै पनि प्रधानमन्त्रीको औपचारिक नेपाल भ्रमण भएको छैन ।
सन् २००२ मा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी नेपाल आएका थिए तर त्यो सार्क शिखर सम्मेलनमा भाग लिनका लागि मात्र थियो औपचारिक थिएन ।
- योगेशजंग कुँवर
0 comments:
Post a Comment