नेपालले भारतलाई उज्यालो बनाइदिन सक्छ : मोदी

बुद्धले मनको अँध्यारो हटाए, अब पानीले हाम्रो अँध्यारो हटाओस्

२०७१ साउन १८ गते 
modi-in-ca
१८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुस्तानको अँध्यारो नेपालले हटाउन सक्ने बताएका छन् । नेपालमा जन्मेका गौतम वुद्धले मनको अँध्यारो हटाइदिएको भन्दै अब नेपालको पानीबाट भारतलाई उज्यालो पार्न नेपालले सहयोग गर्नुपर्ने मोदीले आग्रह गरे ।
संविधानसभा/व्यवस्थापिका संसदलाई आइतबार विशेष सम्बोधन गर्दै मोदीले आफूहरुले नेपालको बिजुली सित्तैमा लैजान नचाहेको बताए । ‘नेपाल, जहाँबाट जन्मिएका बुद्धले मनको अँध्यारो हटाए, विचारको प्रकाश दिए र मानव जातिलाई नयाँ चेतना मिलेको थियो’ मोदीले भने-’यो नेपाल पानीको शक्तिको यस्तो धनी छ, उसले विजुलीको माध्यमबाट आज पनि हिन्दुस्तानको अँध्यारो हटाउन सक्छ ।’
मोदी आउँदा के माग्ने होला भनेर अन्योलमा बसेका नेपाली नेताहरुलाई भारतीय प्रधानमन्त्रीले कस्तुरीको सुगन्धबारे सुसुचित गराएजस्तै नेपालले भारतलाई उज्यालो बनाइदिनसक्ने आग्रह गरेका छन् ।
तत्कालका लागि भारतले नेपाललाई बिजुली दिने र नेपालले आफ्नो बिजुली बेचेर १० वर्षपछि भारतलाई उज्यालो बनाउनुपर्ने मोदीको प्रस्ताव छ । तर, भारतले बिजुली सित्तैमा लिन चाहेको नभई किन्न चाहेको मोदीले प्रष्ट पारेका छन् । सवा सय करोड जनसंख्या भएको भारतलाई विजुली बेचेर नेपाल सम्पन्न बन्न सक्ने उनको दाबी छ ।
‘हामी बिजुली सित्तैमा चाहँदैनौं’ मोदीले हाँस्दै थपे-’हामी किन्न चाहन्छौं, तपाईहरुको पानी लिएर जान चाहँदैनौं ।’ मोदीले यसोभन्दा सभासहरुले पनि रमाउँदै ढ्याप ढ्याप पारेर ताली बजाएका थिए ।
मोदीले नेपालसँग उज्यालो मागे
माथिल्लो कर्णालीको पीडिए र विद्युत व्यापार सम्झौतामा समेत हस्ताक्षर हुन नसकेको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको भाषणले नेपालीहरुलाई सित्तैमा विजुली लान नभई किन्न खोजेको बताएर मोदीले आश्वस्त पार्न खोजेको प्रष्ट देखिन्थ्यो ।
भारतको अँध्यारो हटाउन मोदीले मागेको सहयोगले जलस्रोतको हकमा नेपालको हात भारतभन्दा माथि रहेको स्पष्ट संकेत दिएको छ । मोदीले नेपाल अँध्यारो छ, म उज्यालो पारिदिन्छु भनेनन् । बरु उनले भारतलाई बिजुली किन्न दिनोस् भनेर व्यापारिक डिल गर्ने प्रयास गरे ।
सानो देश भए पनि सार्वभौमिकतालाई उत्तिकै सम्मान गर्ने बताएका मोदीले नेपालसँग माग राखे । नेपाली नेताले भारतसँग माग्दै आएका बेला मोदीले नेपालको सम्पन्नताबारे व्याख्या गर्दै उज्यालो माग गरेका छन् ।
नेपालको विकासको मार्ग जलविद्युत भएको भन्दै मोदीले भारतलाई मात्रै बिजुली बचेेर पनि नेपाल सम्बृद्ध मुलुक बन्न सक्ने बताए । ‘निर्णय तपाई गर्नुस्, आप्नो नेतृत्वको परिचय दिनुस्’ भारत विद्युत विकासमा हातेमालो गर्न तयार रहेको भन्दै उनले भने-’हामी तपाईको विकास यात्रामा जोडिन चाहन्छौं ।’
उनले नेपाललाई अहिले चाहिने विद्युत दिन भारत दिन तयार रहेको बताए । यसका लागि विद्युत ट्रान्समिसन लाइन विस्तार गर्न आग्रह गर्दै उनले भने- आज हामी बिजुली दिइरहेका छौं, त्यसलाई दोब्बर गर्ने इच्छा छ । आज हामी नेपालको अँध्यारो हटाउन चाहन्छौं । दशकपछि नेपालले हिन्दुस्तानको अँध्यारो हटाउँछ ।’
पहाड, पानी र जवानी
सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले हाँस्दै पानी र जवानी पहाडमा कहिल्यै नटिक्ने आहानको पनि चर्चा गरे ।
‘तपाईको पानी र जवानी यो कहिल्यै पहाडमा काम लाग्दैन । पानी रहँदैन, बगेर जान्छ र जवानी पनि पहाडमा थोरै उमेर बढेपछि मौका मिल्यो कि गइहाल्छ’ उनले भने-’यो कुनै युगमा भनिएको थियो, अब परिर्वतन गर्नुपर्छ । पानी कसरी पहाडमा काम लाग्छ र जवानीले रौनक दिन्छ, हामीले देखाउनुपर्छ ।’
पर्यटन र जडिबुटीको सम्भावना
भारतीय प्रधानमन्त्रीले नेपालको विकासमा काँध मिलाउन तयार रहेको भन्दै भन्दै उनले नेतृत्वलाई अगाडि आउन आहृवान गरे । जडिबुटी प्रवर्धन, पर्यटनसहितको विकासको सम्भावना रहेको भन्दै उनले भने- पर्यटक आए चना बेच्नेले पनि कमाउँछ, बदाम बेच्नेले पनि कमाउँछ, चिया बेच्नेले पनि कमाउँछ । जब चिया बेच्नेको कुरा आउँछ त मलाई आनन्द हुन्छ ।’
पेट्रोलियम पदार्थलाई पाइपलाइनबाट ल्याउने, भारतमा छात्रवृत्ति पाउने विद्यार्थीको संख्या बढाउने लगायतका योजना मोदीले सुनाए ।
आफ्नो मनमा नेपाललाई ‘हिट’ गर्ने मन लागेको भन्दै उनले ‘एचआइटी’ अर्थात हाइवेज, आइवेज र तेस्रो ट्रान्सवेजमा जोड दिए । हाइवेज भनेको सडक, आइवेज भनेको सूचना प्रविधि र ट्रान्स वेज भनेको ट्रान्समिसन लाइन भएको उनले बताए ।
ट्रान्समिसन लाइनमा सुधार गरेर भारतबाट बढी बिजुली दिने आफ्नो चाहना रहेको भन्दै मोदीले १० वर्षपछि नेपालले भारतलाई उज्यालो बनाउनुपर्ने उनले बताए ।
आफ्नो मुलुकको प्राकृतिक सम्पदा र शक्ति चिन्न नसकेर भारतसँग हात पसार्ने हीन मानसिकताले ग्रसित नेपाली नेताहरुलाई मोदीले नेपालको पहाडी क्षेत्रको पानी, हिमालयको जडीबुटी, तराईको कृषि र लुम्बिनी एवं जनकपुरको महत्वबारे सुझाइ दिएका छन् । नेपाललाई कस्तो बनाउने भन्नेबारे कम्तिमा सय वर्षपछिका लागि सोच्न मोदीले नेपाली नेतालाई सल्लाह दिएका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment