यसरी मौलाउँदै छ जिशिका गुल्मीमा भ्रष्टचार

  • कमिसन बिना कामै हुँदैन

  • प्रेम सुनार
गुल्मी, साउन २३– विकट गाविस दर्लिङ्गको पाटाखर्क निमावि वर्षौदेखि जनताले एक्लै चलाएका छन् । जहाँ जिल्ला शिक्षा कार्यालयले एउटा पनि दरवन्दी नदिदा एउटा शिक्षकलाई पन्द्र सयका दरले तलव खुवाउन मुस्कील छ त्यहाँका जनतालाई । तर पहँुचवाला वस्ने सदरमुकाम तम्घास र यस सेरोफेरोका विद्यालयहरुमा चाहिने भन्दा बढि शिक्षकहरु काज मिलाएर बसेका छन् ।
गाउँको विद्यालयको दरवन्दी ओगट्ने, खोस्ने र सदरमुकाममा काज मिलाएर दोहरो व्यवसाय गर्ने वा राजनिति गरेर हिड्ने शिक्षकहरुका कारण दर्लिङ्ग जस्ता थुप्रै विकट गाविसका विद्यालयहरु धारासायी हुँदै गएका छन् । विकट गाउँका विद्यालयहरुलाई किन दरवन्दी दिन सक्दैन त जिल्ला शिक्षा कार्यालले ? किन कि त्यहाँ कमिशन सहित सिफारिस गर्ने कुनै दलको नेता छैनन् ।
कार्यालय निकट श्रोत भन्छ– राजनैतिक पहुँच र लेनदेनका कारण ५ दर्जन भन्दा बढि शिक्षक काजमा रहेका छन् । शिक्षक काज सरुवाकोे कुरामा मात्र घुस–कमिशनले काम गरेको छैन , विद्यालयलाई भवन दिने र मर्मत रकम पारी दिने कुरामा समेत कमिशनले नै काम गर्ने गर्दछ भन्छन् जानकारहरु । जव कि दर्लिङ्ग कै च्यानडाँडा मावि हावा हुरीले भत्काई दिएको कति महिना भयो ? त्यहाँ कसैको दृष्टी पुग्न सकेको छैन् ।
भवन निर्माण र ममर्त रकम विनियोजनःजिशिका गुल्मीका लागि धेरै पुरानो र भरपर्दो कमिशनको श्रोत हो । जसका कारण हस्तीचौर ८ को पालुखा मावि स्थापनाको ३५ वर्ष सम्म वाँसकै टहरामा रहनु प¥यो । बल्ल गत वर्ष एउटा ४ कोठे भवन प¥यो ३५ वर्ष पछि । सरकारले छात्रा शौचालयका लागि करोडौं रकम पठायो तर कैयौं स्थानमा पुराना शौचालयलाई रङ्ग–रोवन गरेको फोटाका भरमा सम्पन्न बनाईयो ।
त्यस विरुद्ध थुप्रै आवाजहरु उठे । अव सायद जिल्ला शिक्षा कार्यालय सच्चीन्छ कि भन्ने लागेको थियो तर अहिले त्यो भन्दा पनि एक कदम अगाडी बढेर कमिशनको चलखेलले चर्को रुप लिन थालेको विद्यार्थी नेताहरु बताउछन् । श्रोतका अनुसार साउन २ गते लाखौं आर्थिक चलखेल र राजनैतिक पहुँचका आधारमा ५ जना शिक्षकको सुरुवा गरिएको छ । उक्त सरुवा गर्दा डेढ दुई वर्ष अघि नै म्याद सकिएका अवैधानिक व्यवस्थापन समितिको अख्तीयारीको दुरुपयोग गरी सम्वन्धीत विद्यालयलाई थाहै नदिई सुरुवा गरिएको ति विद्यायलय श्रोतले बताएको छ ।
उक्त सरुवा तत्काल बदर गर्न र अन्य थुप्रै कुराहरुमा जिल्ला शिक्षा कार्यालयमा हुने गरेको आर्थिक लेनदेन र अनियमित्ता अन्त्य गर्न माग राख्दै शुक्रबार अनेरास्ववियुले ज्ञापन पत्र बुझाएको छ । पछिल्लो चरण गैर कानुनी रुपमा शिक्षकहरु सरुवा गर्ने, खाली दरबन्दी लुकाउने, नयाँ शिक्षक नियुक्तीको पुर्व सन्ध्यामा विद्यालयमा रिक्त विषयको भन्दा घुस दिन सक्नेहरुलाई पायक पर्ने स्थानमा विषय परिवर्तन गरी पठाएको भन्दै सो संगठनको गम्भीर ध्यानकृष्ट भएको ज्ञापन पत्रमा उल्लेख छ ।
कमिशन कै चलखेलका कारण एउटै विद्यालयमा एउटै विषयका दुई तिन जना शिक्षक हुने र कतियप विद्यालयमा हुँदै नहुने गरेको तथ्य प्रति पनि संगठनले जिल्ला शिक्षा कार्यालयलाई विरोध जनाएको छ । यथेष्ट प्रमाण स्वरुव धर्मपुर उमावि ठुलोलुम्पेकमा निमावि तह नेपाली विषय शिक्षक रिक्त भएकोमा गणित शिक्षक रिक्त देखाईएको छ । श्रृङ्गा जनता उच्च माविमा विज्ञानको एक जना मावि तह शिक्षक हुँदा हुँदै अर्को पनि विज्ञान विषय शिक्षक लैजाने तयारी भएको छ ।
आत्माबोध उमावि मानकोटमा गणित विषय शिक्षक रिक्त भएकोमा प्रधानध्यापकको छोरा शरद ज्ञवालीले नेपाली विषय पास गरेकोले उनैलाई छिराउने अभिष्टका साथ रिक्त गणित विषयलाई नेपालीमा रुपान्तरण गरिएको उक्त संगठनको ठहर छ । जवकी त्यस विद्यालयमा नेपाली विषय शिक्षक युवाराज अर्याल हुँदाहुदै गुमराहमा पार्ने काम भएको विद्यार्थी नेताहरु बताउँछन् । उता गणेश मावि पिपलधारामा गणित विषयको एक शिक्षक हुँदाहुँदै गणितको अर्को शिक्षक पठाउन तयारी भैरहेको छ ।
यसरी कतै दरवन्दी लुकाउ त कतै देखाउ गर्दै र दरवन्दी मिलान, काज मिलानका नाममा शिक्षक सरुवा गर्दा प्रति शिक्षक डेढ लाखका दरले करोडौंको कारोवार जिल्ला शिक्षा कार्यालयमा हुने गरेको विश्वस्त श्रोतको दावि छ । म्यालपोखरी मलायगिरी तिरका विद्यालयहरुमा पनि कतै दरवन्दी लुकाउने त कतै वदली गर्ने गरेको प्रति स्थानियवासी आक्रोषित छन् । शिक्षक नियुक्ती प्रकरण त जिल्लामा निकै चर्चा पाउँदै आएको विषय हो । राहत र अस्थाई शिक्षक नियुक्ती विना घुस विना शोर्सफोर्स हुदै नहुने श्रोतले ठकुवा गरेको छ ।
७० हजार देखि दुई लाख सम्म प्रति शिक्षक नियुक्तीमा घुस खान थाले पछि घुस खुवाउन नसक्ने योग्य ब्याक्ति पनि अयोग्यको विल्ला भिरेर विदेशीनु परेको थुप्रै युवाहरुको गुनासो रहँदै आएको छ । यसका अलवा जिल्ला शिक्षा कार्यालय गुल्मीको अनियमित आम्दानीको अर्को श्रोत भनेको शिक्षक अवकास प्रकरण हो ।
३० औं वर्ष सम्म शिक्षण पेशा गरेका शिक्षकहरु अवकास पाउने बेलामा विना घुस आवस्यक कागजात पाउँदैनन् । भवन , मर्मत रकम पार्दा र सम्पन्न हुँदा कमिशन टिप्न कृषकलाई असारे १५ जस्तै हुन्छ जिल्ला शिक्षा कार्यालय गुल्मीलाई । वेला वेलामा गरिने काज मिलान, शिक्षक नियुक्तीमा हुने घुसका विरुद्ध आवाज उठाउने दलका ठालु नेताहरु प्राय हुँदैनन वरु दिन तम्सिनेहरु बढि हुने भएकोले पनि उसले प्रशय पाएको सर्वसाधरणको ठम्याई छ ।
विद्यालयको नगदे काम प्राय जिल्ला शिक्षा कार्यालयबाट हुँदैन् ,ब्यक्तिका कोठामा लाम लाग्ने गर्दछ । सरुवा कै कुरा गर्नु पर्दा सिर्सेनीमा र अर्खलेमा भएका सरुवामा व्यवस्थापन समितिको म्याद सकिएको छ । सिर्सेनी प्राविबाट रियाले प्राविमा ल्याईएका शिक्षक त्यस विद्यालय व्यवस्थापन समितको कुन बैधानिताबाट ल्याईयो ? हस्तीचौरबाट जनसहयोग मावि अर्खलेमा ल्याईएका शिक्षक पनि कुन बैद्यानिताबाट ल्याईयो ? यस्तो प्रश्न उठाए ज्ञापन पत्र बुझाउन जाने विद्यार्थी नेताहरुले । उनिहरुका अनुसार उक्त विद्यालय व्यवस्थापन समितिको पनि डेढ वर्ष अघि नै म्याद सकिएको छ ।
साउन २ गते कसैलाई सुँईको नदिई रातौंरात ५ जना शिक्षक सरुवा गरेर हिडेका जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ अझै आई पुगेका छैनन् । त्यस विरुद्ध आन्दोलित भएको अनेरास्ववियु शुक्रवार जिल्ला शिक्षा कार्यालयमा पुग्दा सहायक जिल्ला शिक्षा अधिकारी दिेपन्द्र ढकालले उठेका विषयहरु प्रति गम्भीर भएको बताएका थिए ।
यस सम्वन्धमा नेकपा एमाले गुल्मीका विद्यार्थी ईन्चार्ज हिरा एसी जिल्ला शिक्षा कार्यालयले गरेका अनियमित ढंगको शिक्षक सरुवा बदर नगरे कानुनी उपचार वा आन्दोलन गर्ने चेतावनी दिन्छन् । ‘गैह्र कानुनी रुपमा जति पनि निर्णयहरु भएकाछन् त्यो उसले बदर गरोस्’– एसीले भने–‘ नत्र हामी शिक्षा सेवा आयोग वमोजिम कानुनी उपचारको बाटो खोज्छौं वा आन्दोलनमा उत्रिन्छौं । ’ तर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघ अध्यक्ष सुदर्शन खनालले भने आफहरुलाई जिशिकाबाट अनियमित्ता भएको अथेष्ट प्रमाण फेला नपारेको बताउँछन् । भन्छन्–‘ त्यस्तो कुनै यथेष्ठ प्रमाण फेला पारेका छैनौं, फेला पारे संगठनको बैठक वसी खवरदारी गर्ने छौं । ’ एकिकृत माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञवालीले पनि अनियमित्ताका विरुद्ध आफुहरुको संगठन अन्य विद्यार्थी संग साझा मुद्धा बनाएर अगाडी बढ्ने बताए ।
ज्ञवालीले भने झैं आ–आफ्नो अनुकलमा चले ठिक नत्र बेठीक भन्ने प्रबृद्धि त्यागरे जिल्ला शिक्षा कार्यालयलाई सवै विद्यार्थी, शिक्षक, राजनैतिक दलले अनियमित्ता , भ्रष्टचार विरुद्ध वेलैमा खवरदारी नगरे जिशिका गुल्मीमा भ्रष्टचारले थप मलजल पाउने बुद्धिजिविहरुको ठम्याई छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment