यो दशैंमा कम्तिमा १६ लाखले काठमाडौं छाड्ने अनुमान
२५ भदौ, काठमाडौं । दशैं मनाउन गाऊँ र्फकनेहरुका लागि बुधबारदेखि बसको टिकट बुकिङ खुलेको छ । टिकट खुलेकै दिन राजधानीका बसपार्क र अन्य टिकट काउन्टरहरुमा हजारौंं सर्वसाधारणको लाइन देखियो ।
बुधबार बिहानबाट टिकट बुकिङ खुलेकोमा टिकट नपाउने डरले उनीहरु उज्यालो हुनुअघि राति २ बजेदेखि नै बसपार्कको टिकट काउन्टर अगाडि पुगेर लाइनमा बसिसकेका थिए ।
अनलाइनखबरकर्मी बिहान ४ बजे गोंगबुस्थित बसपार्कमा पुग्दा टिकट बुक गर्नेहरुको भीड लागिसकेको थियो । बुकिङ सवा ६ बजेदेखि सुरु भए पनि टिकट नपाइने डरले रातिदेखि नै लाइन लाग्न बाध्य भएको उनीहरुको गुनासो थियो । ‘रातिदेखि नै लाइन लागेर टिकट नलिए भनेको सीट पाइँदैन, त्यही भएर साढे ४ बजेदेखि लाइनमा छु’ झापा बाहुनडाँगीकी हेममाया खत्रीले अनलाइनखबरसँग भनिन- ‘सबेरै आएर लाइन लागे पनि धेरै पछाडि परेँ ।’
बसपार्कमा अधिकांश कम्पनीहरुले आजदेखि टिकट बुकिङ सुरु गरेका छन् । एकाध गन्तव्यमा बाहेक सबै गन्तव्यको टिकटका लागि लामो लाइन छ । अन्य समयमा भन्दा दशैंका बेला घर फर्किनेहरु अत्यधीक धेरै हुने गर्छन् । प्रत्येक दशैंकमा कम्तिमा १२ देखि बढीमा २० लाख मान्छेले काठमाडौं छाड्छन् ।
१६ लाख यात्रु बाहिरिँदै
अध्ययन तथा जागिरका सिलसिलामा राजधानीमा रहेको ठूलो जमात एकैपटक घर फर्किंदा यातायात व्यवस्थापनमा समस्या पर्ने गर्छ । सरकार तथा व्यवसायीहरुले यसपटकको दशैंमा करिव १६ लाखले राजधानी छाड्ने आंकलन गरेका छन् ।
टिकट बुकिङ गर्न ४ बजे नै बसपार्क पुगेका गुल्मी सिमलटारीका अशोक अर्यालले विगतदेखि नै यसैगरी टिकट लिएको बताए । टिकट नपाएर दशैंमा घर जान नपाइएला कि भन्ने डरले समयमा टिकट बुकिङ गर्ने गरेको उनको भनाइ थियो ।
सरकार र व्यवसायीले पर्याप्त बसहरुको व्यवस्था गर्न नसक्दा हरेक वर्ष टिकटका लागि संघर्ष गर्नुपरेको सर्वसाधारणको गुनासो छ । व्यवसायीहरुले दशैंमा हुने भीडलाई मध्यनजर गरेर बसहरु थप्ने गर्छ । तर, पनि ती बस पर्याप्त छैनन् । ‘यात्रुहरुको भीड दशैंमा मात्र हुने गर्छ, अन्य बेलामा यात्रु पाउनसमेत गाह्रो हुन्छ’ टिकट काउन्टरका रामबहादुर कार्कीले भने- ‘दशैं तिहारको भीडलाई हेरेर मात्र गाडीहरु धेरै हाल्न सकिँदैन ।’
कतै रमाइलो, कतै झण्झट
यातायात व्यवसायीले जनताको सुविधा भन्दा पनि यही मौकामा कमाउने ध्याउन्न पालेको आरोप लाग्ने गरेको छ । टिकट बुकिङ गर्न आउनेहरु १२/१५ वर्षका युवादेखि ७०/७५ वर्षका वृद्धवृद्धासम्म भेटिएका छन् ।
सर्लाहीका लागि टिकट बुकिङ गर्न बसपार्क पुगेका रामेश्वर यादव राति २ बजे ललितपुरस्थित डेराबाट निस्किएका थिए । विगतका वर्षदेखि नै यसैगरी टिकट बुकिङ गर्दै आएको उनले सम्झिए । कतिपय युवाहरुले वर्षको एकपटक यसरी टिकट काट्दा रमाइलो हुने गरेको बताए भने कतिपयले झन्झट लागेको बताए ।
प्रहरीको छड्के
सरकार तथा व्यवसायीहरुले टिकट बुकिङ सहज गराउन प्रयासरत देखिन्थे । टिकट बुकिङ चलिरहेकै बेलामा विहान छड्के अनुगमनमा पुगेका ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले यात्रुहरुलाई सहज रुपमा घर पठाउन आफुहरु प्रतिवद्ध रहेको बताए ।
‘पहिलो दिन भएर टिकट बुकिङ गर्न यात्रुहरुको ठूलो भिड लागेको हो, दुई/तीन दिनमा भिड घटिहाल्छ’ अधिकारीले भने- ‘पर्याप्त बसहरु थपेर यात्रालाई सहज बनाउन सरकार र व्यवसायी लागिपरेका छन् ।’
कडा अनुगमन
दशैंको बेलामा टिकट बुकिङमा अनियमितता गरेको पनि गुनासो सुनिन्छ । यसलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले ३ तहको अनुगमन प्रणाली लागु गरेको छ । पहिलो टिकट बुकिङ हुने स्थानहरुमा १० वटा नागरिक सहायता कक्ष राखिएको छ भने दोस्रोमा सुपर भाइजरका रुपमा अनुगमन टोलीले निरिक्षण गरिरहेका छन् ।
तेस्रोमा यातायात व्यवसायी, उपभोक्ता मञ्चका प्रतिनिधि र वाणिज्य विभागका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोली काउन्टरमा टाइएको छ ।
अनलाइन बुकिङ चाहियो
टकट बुकिङ गर्न पुगेका कतिपय यात्रुहरुले अहिलेको डिजिटल जमानामा अनलाइन बुकिङ सिष्टम हुनुपर्ने बताएका छन् । ‘विश्व कहाँबाट कहाँ पुगिसक्यो, यहाँ घर जानका लागि पनि रातभर लाइन लागेर टिकट काट्नुपर्छ’ यात्रु भिष्म पन्थीले भने-‘अब यातायात व्यवसायीहरु इन्टरनेट प्रणालीमा गएर यात्रुलाई घरबाटै टिकट काट्न पाउने व्यवस्था गर्नुपर्छ ।’
0 comments:
Post a Comment