हिमपातमा परेर हिमालपारिको जिल्ला मुस्ताङमा १६ जनाको ज्यान गएको छ । हिमपातको चपेटामा परेका १९ जना घाईते छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार मर्नेमा ९ जना नेपाली, ३ जना पोल्याण्ड, ३ जना इजरायल र १ जना भियतनामका पर्यटक रहेका छन् ।
अन्नपूर्ण फेरोको थोराङपास (५४१६ मिटर) पार गरेर मुक्तिनाथतिर झर्ने क्रममा करिब ५ हजार मिटरको उचाईमा उनीहरु हिमपातमा परेका थिए । मृत्यु हुनेको नाम खुलेको छैन। नेपाली सेनाले धमाधम घाईतेहरुको उद्धार गरिरहेको छ । जिवितलाई हेलिकोप्टरबाट काठमाडौं र पोखरा ल्याउने तयारी गरेको छ ।
नेपाली सेना र प्रहरीको उद्धार टोलीले हिउँपहिरामा पुरिएका १४ जनालाई भने हेलिकोप्टरबाट सकुशल उद्धार गरेको मुस्ताङका प्रजिअ बाबुराम भण्डारीले बताउनुभयो । हिउँपहिराले पुरिएका अन्य पर्यटकको पनि खोजी भइरहेको छ ।
यस्तै मनाङको नार र फु गाउँमा याक चराउन गएका तीन जनाको मृत्यु भएको मनाङ प्रहरीले जनाएको छ । मुत्यु हुनेमा नार गाविसका पूर्वअध्यक्ष ४७ वर्षीय फुर्पा लामा, ३० वर्षीय ध्याङ्चोक लामा र एक जनाको भने सनाखत हुन सकेको छैन ।
सोमबारदेखि परेको पानीसँगै मुस्ताङ र मनाङका डाँडाकाँडामा भारी हिमपात भएको छ । मुस्ताङको उपल्लो भेगका डाँडापखेरामा बाक्लो हिउँ जमेकाले निकै जाडोको महसुस गरिएको छ । मुस्ताङमा ७७ मिलिलिटर पानी परेको त्यहाँको जल तथा मौसम विज्ञान विभाग जोमसोम केन्द्रले जनाएको छ ।
0 comments:
Post a Comment