नेपाल जापान डट कम सम्बाददाता-
नेपाली जनताको मनमा बस्न सफल फिल्म ‘नाइँ नभन्नू ल’ र ‘नाइँ नभन्नू ल २’ पछि अब यसको तेस्रो शृंखला ‘नाइँ नभन्नू ल ३’ पनि छिट्टै श्रोता माँझ आउने भएको छ | बुधबार देखि यसको सुटिङ सुरु भएको छ | राजधानीको भद्रकाली मन्दिर परिसरमा बुधबार मुहूर्त गर्दै सुटिङ थालिएको हो |
मुहूर्तपछिको पहिलो सट संयम पुरीले दिएका थिए भने सुटिङमा उनलाई आश्मा डिसी र अनुभव रेग्मीले साथ दिएका थिए । फिल्मभित्र प्रेमीप्रेमिकाका भूमिकामा देखिने संयम र आश्मा असली जिन्दगीमा पनि प्रेमीप्रेमिका नै हुन् । फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन्, जो यसअघि ‘नाइँ नभन्नू ल २’मा विकास आचार्यका मुख्य सहायक निर्देशक थिए ।
मुस्कानले फिल्म निर्देशनलाई चुनौती र अवसरको रुपमा व्याख्या गर्दै राम्रो बनाउन हरसम्भव प्रयत्न गरिने वाचा गरे । ‘नाइँ नभन्नू ल’ जस्तो स्थापित फिल्मको सिक्वेल निर्देशन गर्न पाउनु मेरा लागि अवसर हो । पहिलेका फिल्मभन्दा राम्रो बनाउनुपर्ने चुनौती पूरा गर्नुछ,’ ढकालले भने ।
फिल्ममा प्रियंका कार्की, सुरज सिंह ठकुरी, सञ्चिता लुइँटेलले अभिनयका लागि स्वीकृति दिइसकेका छन् । यसअघि ‘नाइँ नभन्नू ल’का दुवै शृंखलामा देखिएका जीवन लुइँटेलले भने अन्तिम समयमा फिल्म नखेल्ने भएका छन्।
उनले मंगलबारमात्र नखेल्ने जानकारी गराएको निर्माता विकास आचार्यले जानकारी गराए । उनले जीवनको साटो फिल्ममा आर्यन सिग्देल खेलाउने कोशिस भइरहेको बताए । ‘मंगलबार बेलुकी मात्र जीवनले खबर गर्यो । खेल्ने नखेल्ने उनको इच्छाको कुरा हो तर बेलैमा खबर गरेको भए हामीलाई सजिलो हुन्थ्यो,’ आचार्यले भने ।
उनले आर्यनसँग एक चरण कुरा भइसकेको बताए । फिल्ममा गरिमा पन्तको विशेष भूमिका रहनेछ । विकास आचार्यकै लेखन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र वसन्त सापकोटाको संगीत रहेको छ ।
0 comments:
Post a Comment