प्रहरीले पक्रन खोजेपछि किशोरीले आत्महत्या गरिन्

तिहारमा पटकाको निहुँले ज्यान गयो

२०७१ कार्तिक ६ गते

anjana-karki
६ कात्तिक, मोरङ । पटका पड्काएको अभियोगमा प्रहरीले गिरफ्तार गर्न खोजेपछि इन्द्रपुर गाविसको खोर्सानेमा एक किशोरीले आत्महत्या गरेकी छन् ।
बन्दुक बोकेका प्रहरीले पक्रन खोज्दा घरभित्र लुकेकी कक्षा १० मा पढ्ने किशोरी अञ्जना कार्कीले मंगलबार राति आफ्नै घरमा भुण्डिएर आत्महत्या गरेकी हुन् ।
मृतकका आफन्तले दिएको जानकारीअनुसार मंगलबार साँझ अञ्जनाले खोर्साने चोकमा वालवालिकासँग मिलेर पटका पड्काएकी थिइन् । झिरझिर गरेर पड्कनेखालको पटका हातैमा पड्कन लाग्दा अञ्जनाले आत्तिएर फालेपछि स्थानीय मनु तामाङको त्रिपालमा लागेको थियो ।
‘त्रिपालमा पटकाले प्वाल पारेपछि मनुले अञ्जनालाई जगट्याएर कुटिछन्,’ मृतकका काका राजु कार्कीले अनलाइनखबरसँग भने, ‘त्यसपछि बेलबारी इप्रकाबाट असईको नेतृत्वमा आएको प्रहरी टोलीले अञ्जनालाई पक्रन खोज्दा उनी घरमा लुकेर जोगिइन् ।’
प्रहरीले ‘भोलि कहाँ जालिस् र, बिहान ८ बजे आएर तँलाई पक्रिन्छौं’ भन्दै डर देखाएर हिँडेको केही घण्टा नबित्दै अञ्जना आफ्नी बहिनी आस्था सुत्ने कोठामा सिलिङमा पासो लगाई मृत अवस्थामा फेला परेकी कार्कीले बताए ।
‘यो त प्रहरीको ज्यादती नै भयो, डाइस खेलाउनेसँग पाँच सय घुस लिएर छाडिदिने प्रहरीले यसरी बालवालिकालाई आतंकित पार्न मिल्छ ?’ कार्कीले अनलाइनखबरसँग भने, ‘हामी सामान्य मान्छेमाथि ठूलो अन्याय भयो, प्रहरीकै कारण हाम्री भतिजीले पक्राउ पर्ने डरले ज्यान गुमाइन् ।’
मृतक अञ्जनाको धरानमा पोष्टमार्टमपछि बुधबार बेलबारीको लोहन्द्रा खोलामा दाह संस्कार गरिएको छ ।
घटनापछि प्रहरीले स्थानीय मनुु तामाङलाई नियन्त्रणमा लिन खोज्दा आक्रोशित स्थानीयले बुधबार प्रहरीको गाडीमा सामान्य ढुंगामुढाको प्रयास गरेका थिए ।
स्थानीय नारायण भण्डारीले अनलाइनखबरसँग भने- ‘प्रहरीको आतंककै कारण अञ्जनाले आत्तिएर आत्महत्या गरेकी हुन्, दोषीमाथि छानविन गरी कानूनी कारवाही गरिनुपर्छ ।’
प्रहरीको दाबी
बेलबारी इलाका प्रहरी कार्यालय स्रोतले भने झुण्डिई आत्महत्या गरेको व्यहोरासहितको जाहेरी परेको र सोहीअनुसार पोष्टमार्टम भइवरि परिवारले सदगति गरिसकेको बतायो ।
‘आगलागी भएको खबर सुनेर प्रहरी त्यहाँ गएको हो, त्रिपालमा सानो प्वाल परेको देखेपछि प्रहरीले किशोरीलाई भेट्दै नभेटी फर्केको छ,’ इप्रका बेलबारीका एक प्रहरीले अनलाइनखबरसँग भने, ‘केटीलाई प्रहरीले भेटेकै छैन, कसरी आतंकित पार्छ ? प्रेमीले धोका दिएर मरिन् कि के कारणले आत्महत्या गरिन्, प्रहरीलाई दोष लाउनु बेकार छ । दोषीसहित किटानी जाहेरी आयो भने हामी अनुसन्धान गर्छौं ।’
आत्महत्याको जाहेरी आएकाले अहिलेसम्म घटनामा कसैलाई गिरफ्तार नगरिएको इप्रका बेलबारीले स्पष्ट पारेको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment