मिति : २०७१ साउन, ३ शनिबार
वासिङटन : अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायलको आत्मरक्षाको अधिकारप्रति समर्थन जनाएका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्ने क्रममा हमासविरुद्ध जारी लडाइँमा इजरायलको समर्थन गर्ने बताएका हुन्।
ओबामाले गाजापट्टीमा भइरहेको कारबाहीमा सर्वसाधारणलाई हानि हुन नदिन सतर्क हुन आग्रहसमेत गरेका छन्। उनले प्यालेस्टाइनी सर्वसाधारण मारिएकोप्रति समवेदना व्यक्त गरे। इजरायल-हमास संघर्षमा अहिलेसम्म तीन सय ३३ भन्दा बढी प्यालेस्टाइनीकोमृत्यु भइसकेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले १२ दिनको कारबाहीमा ७७ जना बालबालिका, २४ जना महिला र १८ जना वृद्धवृद्धाको मृत्यु भएको जानकारी दिएको छ। त्यस्तै दुई हजार तीन सय ८५ भन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन्।
शनिबार भएको दुई घटनामा १५ भन्दा बढी प्यालेस्टाइनीकोमृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन्। इजरायलले गत बुधबार गाजास्थित समुद्री तटमा गरेको बमबारीमा त्यहाँ खेलिरहेका चारजना बालबालिकाको मृत्यु भएको थियो। यसघटनापछि इजरायलले गल्ती भएको भन्दै माफी माग्दै बिहीबार पाँच घन्टा युद्धविराम गरेको थियो।
इजरायल र हमासबीच शान्ति स्थापित गर्ने उद्देश्यसाथ संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन पनि शनिबार त्यहाँ पुगेका छन्। गाजापट्टीमा कयौं दिनदेखि जारी संकटले एकपटक फेरि सबैको ध्यान मध्यपूर्वतर्फ तानेको छ। त्यहाँबाट हजारौं मानिस आफ्नो घरबार छोडी भागेका थिए।


0 comments:
Post a Comment