पशुपति शर्माको तीज गीत जुन अहिले प्रतिबन्द लगाईएको छ त्यसको बारेमा आतुतिको बिचार बुझ्ने कि बिरोध गर्नेहरु ?


विश्वभक्त दुलाल ‘आहुति’सँग महावीर विश्वकर्माले गरेको कुराकानीको अंश ।-स्रोत : जागरण मिडिया


''....मेरो विचारमा रेडियो र ईलेक्ट्रोनिक माध्यमबाट बज्ने गीतहरुमध्ये अहिलेसम्मको जातप्रथा माथी सबभन्दा साहसपूर्वक प्रहार गरिएको गीत यही नै हो । ....रेडियोको माध्यमबाट वा टेलिभिजनको माध्यमबाट पर्दामा इलेक्ट्रोनिकको माध्यमबाट चाहीँ हाकाहाकी, साहसपूर्वक, खुला रुपमा जातप्रथाको विरुद्धमा गाइएको यतिको सशक्त गीत नेपालमा आएकै थिएन । त्यसकारण यस्तो गीतलाई, यति साहसपूर्वक ल्याइएको गीतलाई चाहीँ स्वागत गरेर त्यसलाई स्थापित गर्नु र जातप्रथा माथीको प्रहार, छुवाछुत माथीको प्रहार, अन्तरजातीय विवाहको विरोधीहरुमाथीको प्रहार गर्नुको सट्टा झन यसको विरोध गर्नु भनेको त महामुर्खता हो ।''-आहुति
पशुपति शर्माको गीतबारे साहित्यकार आहूति भन्छन् ‘अहिलेसम्मको जातप्रथा माथी सबभन्दा साहसपूर्वक प्रहार गरिएको गीत यही नै हो
July 25, 2014 437 Views
aahutiपशुपति शर्माको ‘हामी नेपाली’ शीर्षकको तीज गीतको केही दलित प्रतिनिधिले बिरोध गरेपछी त्यस्को बिषयमा चर्चा-परिचर्चा हुनथालेका छन् । यसै बिषयलाई लिएर यस अघी दलित अधिकारसँग सम्बद्ध रहेर ‘दलन’ नामक टेलिश्रिंखला बनाएको संस्था जागरण मिडिया सेन्टरले छलफल थालेको छ । जस अनुरुप दलित आन्दोलनका अग्रणी व्यक्तित्व, साहित्यकार तथा ‘दलन’का लेखक विश्वभक्त दुलाल ‘आहुति’सँग ‘जागरण मिडिया सेन्टर’का लागि महावीर विश्वकर्माले गरेको कुराकानीको अंश ।
अहिले पशुपति शर्माले ल्याउनुभएको गीतको विषयमा मिश्रित किसिमका प्रतिक्रियाहरु आईरहेका छन् । तपाईँले पनि यो गीत सुन्नुभयो, भिडियो पनि हेर्नुभयो । अब यो गीतमाथी भइरहेको विरोधहरुप्रति के भन्नुहुन्छ तपाईँ ?
- अब यो गीतको विरोध किन भयो होला भने, मेरो विचारमा दलित आन्दोलनको बारेमा, जातप्रथाको बारेमा, उनीहरुको अस्तित्वका बारेमा ठीक ढंगले कुरा नबुझेपछि यस्ता विरोधहरु जन्मिन्छन् । मेरो वहाँहरुलाई सुझाव के छ भने, पहिलो कुरा त कुरा राम्रोसँग पहिला बुझ्नुपर्यो । कुरा नबुझीकन विरोध गर्नु भनेको चाहीँ महामुर्ख ठहरिनुहुन्छ यो गीतको सन्दर्भमा । यो गीतले कसैको अपमान गर्दैन । सबैलाई सम्मान गर्छ र समावेशिताको सन्दर्भमा यसले एउटा आह्वान पनि गर्छ ।
जहाँसम्म विरोध गर्नेहरुको दमाईलाई दमाई भन्यो परियार भनेन, कामीलाई कामी भन्यो विश्वकर्मा भनेन भनेर विरोध गरेको भन्ने पनि मैले सुनेँ । त्यो त झन् अर्को अति भयो । किनभने वास्तवमा परियार भनेको त दमाई भित्रको एउटा थर मात्रै हो । तै पनि फेरी दमाईहरुले आफुलाई परियार भनेर चिनाउन चाहन्छन् भन् त्यसमा दमाई शब्दको विरोध गरिराख्नुुपर्ने त केही पनि छैन । त्यो आफैमा अपमानित शब्द होईन त्यो । दमाहा बजाउनेलाई दमाही भन्या हो त्यो । पेशा मिल्ने जातको नाम हो त्यो । विश्वकर्मा भन्ने बित्तिकै पनि हुने कुरा होईन त्यो । कर्मीबाट कामी शब्दको निर्माण भएको हो । त्यो कुनै अपमानित शब्द होईन त्यो । त्यसकारण जातका नामहरुसँग भेदभाव देख्ने जो अवधारणा छ, जो विकार छ, जो सोँच छ त्यो जातको गर्वलाई, जातको गर्विलोपनलाई ठीक ढङ्गले नबुझ्दा खेरी पैदा भएको समस्या हो । त्यसकारण यो गीतको विरोध गर्नुको कुनै तुक छैन । हाँस्यास्पद विरोध भन्छु म त्यसलाई ।
अहिले फेसबुकमा पनि एकदमै मिश्रित किसिमको प्रतिक्रिया दलित समुदायबाटै आईरहेका छन् । विशेष गरि युवाहरुबाट । यो, फेसबुक प्रयोगकर्ताहरुको यो विषयको बुझाईप्रतिको अपरिपक्वता हो की या यो विषयले नै त्यस्तो महसुस गरायो उहाँहरुलाई ? यसमा थप केही भन्नुहुन्छ तपाईँ ?
- हैन, नेपालमा भर्खर केही युवाहरु र केही पुराना पुस्ताका पनि साथीहरुलाई के परेको छ भने, दलितहरुलाई दलित भन्या हुनाले चाहीँ दलित भा का हो । कामीलाई कामी भनेको हुनाले चाहीँ उत्पीडित हुनुपर्या हो । दमाईलाई दमाई भनेको हुनाले चाहीँ उत्पीडित हुनुपरेको हो, अपमानित हुनुपरेको हो भन्ने उनीहरुलाई परेको छ । त्यो बुझाई नै ठीक छैन वास्तवमा । समग्र राजनैतिक व्यवस्था त्यस्तो भएको हुनाले हो ।
जस्तो म उदाहरण राखुँ, तराईमा पनि लोहार भनिन्छ, पहाडमा पनि लोहार भन्नेहरु छन् । लोहार भन्यो भने कामीलाई चिनिन्छ पहाडमा । तर तराईमा लोहार भन्नेलाई छुवाछुत हुँदैन, त्यही काम गर्छ । पहाडमा लोहार भन्नेलाई छुवाछुत हुन्छ । वा कामीलाई छुवाछुत हुन्छ । त्यसकारण त्यो पेशाको कारणले भएको पनि होईन, त्यो नामको कारणले भएको पनि होईन ।
Pashupati sharma 1एउटै जात जस्तो की, मानन्धर थर भएका नेवारहरुलाई जङ्गबहादुरको पालाभन्दा पहिला पनि उनीहरु मानन्धर नै भन्थे, त्यतिबेला उनीहरुलाई छुवाछुत हुन्थ्यो । जङ्गबहादुरले जात फुकाइ सकेपछि अहिले पनि उनीहरु आफुलाई मानन्धर नै भन्छन् तर उनीहरुलाई अपमानित पनि गरिँदैन, छुवाछुत पनि गरिँदैन । त्यसकारण नाम के भयो भन्ने सन्दर्भको कुरा होईन यो । सन्दर्भ त समग्र राजनीतिक प्रणाली, समग्र साँस्कृतिक प्रणाली, समग्र सामाजिक व्यवस्था कस्तो छ भन्ने आधारमा यो निर्धारित हुन पुगेको हो ।
त्यसकारणले गर्दा दलित नभनेर दलितहरुको मुक्ति हुने पनि होईन । कामी नभनेर कामीहरुको नयाँ परिचय बन्ने पनि होईन । परियार भनेर दमाईहरुमाथी भएको उत्पीडन कम हुने पनि होईन । त्यसकारणले गर्दा समग्र व्यवस्थासँग सम्बन्धित कुरा हो । मलाई के लाग्दैन भने, मेरो सन्दर्भमा भन्नुहुन्छ भने, मलाई कसैले सार्की भन्यो भन्देखी मलाई कुनैपनि अपमान वोध हुँदैन । किन हुनुपर्ने ? त्यो कुरा होईन । थर लेख्ने भनेको अर्कै कुरा हो । थर भनेको त जसले पनि लेख्न पाउनुपर्यो । वाहुनले पनि आफ्नो थर लेख्छ । कामीले पनि लेख्छ । सार्कीले पनि लेख्छ । थर त फरक फरक हुन्छ नी । अहिले परियार सेवा समाजमा बस्नेहरु चाहीँ सबैको थर परियार हो र ? त्यो त हैन नी त । विश्वकर्मा समूहमा बस्नेहरुको सबैको थर विश्वकर्मा हो र ? त्यो त हैन नी त । त्यसैले थर लेख्ने भनेको आफ्नो अधिकारको कुरा हो । तर जातको नामका सन्दर्भमा त त्यसको नामले उसलाई बिगारेकै होईन नी । त्यसकारणले यो बुझाईको समस्या हो ।
यो गीतले समाजमा विद्यमान दलित समुदाय माथीको विभेदलाई कस्तो प्रभाव पार्छ ?
- मेरो विचारमा रेडियो र ईलेक्ट्रोनिक माध्यमबाट बज्ने गीतहरुमध्ये अहिलेसम्मको जातप्रथा माथी सबभन्दा साहसपूर्वक प्रहार गरिएको गीत यही नै हो । यो भन्दा अगाडीका गीतहरु केही रुन्चे गीतहरु बजे । जस्तो की यशकुमारले २—३ वटा गीतहरु गाउनुभयो । मैले छोएको पानी चल्दैन भन्ने गीत गाउनुभयो । त्यो चर्चित भयो । तर विषयवस्तुको हिसाबले त्यो ठीक थिएन । त्यसैगरि म आफ्नै आँगनमा ईनार बनाउँछु भनेर गाउनुभयो । अरुको ईनार छुन नपाए छुन्न भन्नुभयो । त्यो पनि अन्तरवस्तुका हिसाबले बेठिक थियो । प्रगतिशिलहरुले अरु अरु गति गाएका छन्, तिनीहरु महान छन् ।
तर रेडियोको माध्यमबाट वा टेलिभिजनको माध्यमबाट पर्दामा इलेक्ट्रोनिकको माध्यमबाट चाहीँ हाकाहाकी, साहसपूर्वक, खुला रुपमा जातप्रथाको विरुद्धमा गाइएको यतिको सशक्त गीत नेपालमा आएकै थिएन । त्यसकारण यस्तो गीतलाई, यति साहसपूर्वक ल्याइएको गीतलाई चाहीँ स्वागत गरेर त्यसलाई स्थापित गर्नु र जातप्रथा माथीको प्रहार, छुवाछुत माथीको प्रहार, अन्तरजातीय विवाहको विरोधीहरुमाथीको प्रहार गर्नुको सट्टा झन यसको विरोध गर्नु भनेको त महामुर्खता हो ।
हामीले किन यस्तो गीतको स्वागत गर्न सकेनौँ त ? हामीले भन्नुको अर्थ विरोध गर्नेहरुले कुरा गर्न खोजेको मैले ।
- त्यही त, वहाँहरुले कुरा बुझ्न सक्नु भा छैन । केही अमेरिकामा बस्ने एकाध मान्छेहरु छन्, जसले अनावश्यक रुपमा चाहीँ हल्ला फैलाइरहेका छन् की, दलित भनिसकेपछि हामी खत्तम भा को हो भनेर । दलित भनेर आन्दोलन नउठाएको भए आज चाहीँ दलितहरुको बारेमा यो व्यवस्था हुन्थ्यो ? यो कुरा बुझ्नु छैन । देशबाटै पलायन भएका मान्छेहरुले चाहीँ फेसबुकमा अभियान चलाउने । देशभित्र आएर बाँच्न आँट छैन । त्यस्ता मान्छेहरुले हल्ला फिँजाई राख्या छन् र केही युवा साथीहरुलाई हो क्यारे जस्तो परिराख्या छ । केही प्रमुख साथीहरुलाई पनि हो क्यारे जस्तो परिराख्या छ । कुरा त्यस्तो होईन । त्यसकारणले कुरालाई विषयलाई ठीक ढंगले बुझ्नुपर्यो ।तपाईँले दलितका आन्दोलनकर्मीहरु जसले दर्जनौँ वर्ष यो आन्दोलनमा बिताएर यो आन्दोलनलाई स्थापित गरेका छन्, यो शब्दलाई स्थापित गरेका छन् र दक्षिण एसियामा नै पहिलो चोटी संविधानमा नै दलित शब्दलाई स्थापित गरेर सम्बोधन गर्नैपर्ने विषय बनाएका छन् यी आन्दोलनका नेताहरुसँग तपाईँहरुले छलफल चलाउनुपर्यो र आम साथीहरुको बीचमा पुर्याउनुपर्यो भन्ने मेरो सुझाव छ ।
अघि तपाईँले भन्नुभयो, अहिलेसम्म बनेका जति पनि गीत थिए ती मध्येको सबैभन्दा उत्कृष्ट र सशक्त चाहीँ यो हो, जसले जातीय विभेदको कुरालाई सशक्त ढंगले उठाएको भनेर ।
- मैले साहसपूर्वक उभिने सन्दर्भमा भनेको । त्यसको कला पक्ष, त्यसको शब्द पक्ष भन्दा पनि यसले जुन साहसका साथ उठायो त्यो साहस चाहीँ अरु गीतमा देखा परेको थिएन भनेको मैले । यो इलेक्ट्रोनिक माध्यमबाट आएका गीतहरुमा थिएनन् ।
यदि त्यसो हो भने, एउटा गैरदलित स्रष्टाले यसरी आफ्नोतर्फबाट समाज परिवर्तनका लागि सहयोग गरिरहँदा सम्बन्धित समुदायले चाहीँ यो गीत प्रतिबन्ध गरिनुपर्छ, बजारमा आउन दिनुहुँदैन भनेर विरोध गरिरहँदा त्यस्ता गैरदलित समुदायबाट केही गरौँ भन्ने स्रष्टाहरुलाई मानसिक रुपमा यसले असर पुर्याउँछ ?
- अलिकति पुर्याउँछ, किन नपुर्याउने ? तर सँसारमा त्यस्ता मान्छेहरु हुन्छन् । सँसारमा राम्रो काम गर्ने मान्छेले के कुरा पनि बुझ्नुपर्छ भने पिछडिएको चेतनाले केही समय त्यो राम्रो कुरालाई बुझ्न सक्दैन भन्ने कुरा पनि बुझ्नुपर्छ वहाँहरुले । पशुपति जी हरुलाई म त्यो अपिल पनि गर्न चाहन्छु । जस्तो की, म तपाईँलाई भनौँ की, सती प्रथाको उन्मुलन गर्दाखेरी विरोध गर्ने केही महिलाहरु नै निस्किएका थिए । त्यस्तै सँसारमा इन्जिन आईसकेपछि, मेसिनहरु चल्न थालेपछि मेसिन फुटाउनेहरु मजदुरहरु नै थिए शुरुमा । त्यसैले कहिलेकाहीँ त्यस्तो हुन्छ । सकारात्मक कुरा गर्दाखेरी जुन समुदायका लागि त्यस्तो गरिन्छ त्यसले कुरा नबुझेर त्यसको विरोध गरिदिने खतरा हुन्छ । तर त्यो सानो झुण्ड हुन्छ । त्यसले पछि कुरा बुझ्दै जान्छ ।
अब अन्तमा, यो गीतको सन्दर्भमा छोटोमा के भनेर कुरा टुंग्याउनुहुन्छ ?
- यो गीतले नेपाली समाजको यथार्थ जो छ जातमा आधारित त्यसलाई ती जातहरुको नाम लिँदा खेरी कुनै अपमान गर्ने सन्दर्भमा प्रयोग भएको छैन । बरु ती शब्दहरुलाई, ती नामहरु प्रयोग गर्दाखेरी सम्मान गर्ने अर्थमा, समान हौँ भन्ने अर्थमा प्रयोग भएको छ । त्यसकारण शब्द कुन प्रयोग भयो भन्ने मुख्य कुरा होईन, त्यो के का निम्ति प्रयोग भयो ? भन्ने मुख्य कुरा हो । यसरी हेर्दा त्यो चाहीँ जात प्रथाको विरुद्धमा, छुवाछुत भेदभावको विरुद्धमा ती शब्दहरु प्रयोग भएको हुनाले त्यसलाई सकारात्मक रुपमा लिनका लागि र स्वागत गर्न सिक्नुपर्दछ भन्ने मलाइं लाग्छ । - स्रोत : जागरण मिडिया

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment