समाचार bbc बाट साभार
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको एउटा टोली हेलिकप्टर मार्फत दुर्घटनास्थलमा पुगेको छ
पूर्वी युक्रेनका विद्रोहीहरुले अनुमति दिएपछि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरु मलेसिया एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको स्थानमा पुगेका छन्।
ग्राबोभो ग्रामीण क्षेत्र नजीकैको दुर्घटनास्थलसम्म ३० जना जति अनुसन्धानकर्ताहरु हेलिकप्टरमार्फत पुगेका हुन्।
यसअघि पूर्वी युक्रेनमा रहेका रुस समर्थक विद्रोहीहरुले बिहीबार क्षेप्यास्त्र प्रहार गरी खसालिएको मलेसिया एअरलाइन्सको यात्रुवाहक विमानको भग्नावशेष रहेको स्थानमा अन्तर्राष्ट्रिय छानविनकर्ताहरुलाई जान दिने बताएका थिए।
एम्स्टरडमबाट कुआलालम्पुर तर्फको उडानमा रहेको उक्त विमान विद्रोहीहरु नियन्त्रित क्षेत्रमा खस्दा त्यसमा सवार झण्डै तीनसय जनाको ज्यान गएको थियो।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकले मलेसिया एअरलाइन्सको विमानलाई आक्रमण गरी खसालिएको घटनामा पूर्ण, विस्तृत र स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान गर्नका लागि आह्वान गरेको छ।
दावी
युक्रेनी अधिकारीहरुले उक्त विमानमाथि विद्रोहीहरुले आक्रमण गरेका भन्ने आफूसंग प्रमाण रहेको दावी गरेका छन् तर त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।
युक्रेनी अधिकारीहरुले सार्वजनिक गरेका एउटा अडियो रेकर्डिंगमा रुस समर्थक पृथकतावादी विद्रोहीहरुले एउटा गैरसैनिक विमानलाई खसालेको स्वीकार गरेका बताइएको छ।
युक्रेनी अधिकारीहरुले उक्त विमानमाथि विद्रोहीहरुले आक्रमण गरेका भन्ने आफूसंग प्रमाण रहेको दावी गरेका छन् तर त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।
युक्रेनी अधिकारीहरुले सार्वजनिक गरेका एउटा अडियो रेकर्डिंगमा रुस समर्थक पृथकतावादी विद्रोहीहरुले एउटा गैरसैनिक विमानलाई खसालेको स्वीकार गरेका बताइएको छ।
युक्रेनी अधिकारीहरुले उक्त वार्तालाप विमान दुर्घटना भए लगत्तै रुसी गुप्तचर निकायका एकजना कर्णेल र युक्रेनी विद्रोही कमाण्डरबीच भएको दावी गरेका छन्।
मलेसिया एअरलाइन्सको यात्रुवाहक विमान एमस्टरड्यामबाट कुआलालम्पुर तर्फको उडानमा रहेको थियो
विद्रोहीहरुले उक्त विमानलाई आफूले नखसालेको बताएको छन्।
उक्त विमानमा सवार यात्रु मध्ये आधा भन्दा बढी नेदरल्याण्ड्सका नागरिकहरु रहेका छन्।
सो विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति नेदरल्याण्ड्समा शोक मनाइरहंदा देशभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
अनुसन्धान
नेदरल्याण्ड्सका न्यायमन्त्री इभो ओप्सटेलटेनले एउटा पत्रकार सम्मेलनमा बोल्दै, नेदरल्याण्ड्सका अनुसन्धानकर्ताहरु सकेसम्म छिटो कियभ तर्फ जाने बताएका छन्।
“उक्त दुर्घटनामा वास्तवमा के भएको थियो भनेर यकिन गर्न सबैभन्दा जरुरी छ। हाम्रा देशका धेरै मानिसहरुको ज्यान गएको छ। त्यसैले अन्तर्राष्ट्रिय अनुसन्धान टोलीको एक भागका रुपमा नेदरल्याण्ड्सले दुर्घटनास्थलको अनुसन्धान गर्नु जरुरी छ।“
युक्रेनको हिंसात्मक द्वन्द्वमा रहेका दुवै पक्षले एकअर्कालाई मलेसिया एअरलाइन्सको विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको आरोप लगाएका छन्। युक्रेनका प्रधानमन्त्रीले त्यसलाई अन्तर्राष्ट्रिय अपराध भन्दै त्यसका लागि जीम्मेवारहरुले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतको सामना गर्नु पर्ने बताएका छन्।
“हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरुलाई आग्रह गर्दछौं की संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक डाकियोस् र युक्रेन विरुद्धको, युरोप विरुद्धको लडाईंलाई समाप्त पारियोस् र मलेशियाको विमानलाई आतंकवादीहरुले खसालेपछि यो त संसार विरुद्धको आक्रमण हो।“
अति
प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले रुसले पूर्वी युक्रेनका रुस समर्थक विद्रोहीहरुलाई सहयोग गर्ने क्रममा रुसले अति गरेको आरोप लगाए।
तर विद्रोहीहरुले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले, उक्त दुर्घटना युक्रेनको सिमानामा भएकोले त्यसको जिम्मेवारी पनि युक्रेनले नै लिनु पर्ने बताएका छन्।
पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा रुस समर्थक विद्रोहीहरुको नियन्त्रण रहेको छ
“युक्रेनमा शान्ति भैदिएको भए यो दुर्घटना हुने नै थिएन, कम्तीमा दक्षिणपूर्वी युक्रेनमा फेरि हिंसात्मक गतिविधि शुरु नभएको भए पनि शायद यस्तो हुंदैन थियो होला।
“निश्चय नै जुन देश माथि यो घटना भयो त्यसको जिम्मेवारी पनि उक्त देशकै हुन्छ। मैले सैनिक निकायहरुलाई आवश्यक निर्देशन दिइसकेको छु, ता कि तिनीहरुले यो अपराधको अनुसन्धानमा आवश्यक सहयोग प्रदान गर्न सकुन्,“ वुटिनले भने।
अष्ट्रेलियका प्रधानमन्त्री टोनी एबटले मलेसिया एअरलाइन्सको विमान खसालीएको घटनाप्रति रुसको आलोचना गरेका छन्।
उक्त दुर्घटनामा २७ जना अष्ट्रेलियाली नागरिकहरु मारिएका छन्।
उनले अष्ट्रेलियाका लागि रुसका राजदूतलाई बोलाएर कुरा गरिसकेपछि पत्रकारहरुसंग बोल्दै भने, “रुसले प्रारम्भीक प्रतिक्रिया जनाउंदै यो दुर्घटनाको लागि युक्रेनलाई दोष दिएको छ।"
"मैले त्यो एकदमै गहिरो रुपमा असन्तोषकारी टिप्पणी हो भनेको छु। हामी सबैलाई थाहा छ युक्रेनमा समस्या छ। यो समस्याका लागि को मुख्य दोषी हो भन्ने पनि हामीलाई थाहा छ।
"र रुसले उक्त घटना युक्रेनी हवाई सिमामा भएकोले त्यसमा आफ्नो कुनै भूमिका नरहेको भन्नु कुनै गम्भीर छलफलमा सिद्ध हुन नसक्ने कुरा हो,“ प्रधानमन्त्री एबटले भने।
मलेसिया एअरलाइन्सले यो बर्ष बेहोरेको यो दोस्रो विमान दुर्घटना हो।
गत मार्च महिनामा मलेसियाबाट चीन तर्फको उडानमा रहेको एमएच ३७० विमान हालसम्म फेला परेको छैन।
About Unknown
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:
Post a Comment