प्रेम सुनार
गुल्मी, साउन १३ । गत साउन ३ गतेको अविरल वर्षाले लघुजल विद्युत परियोजनाको बाँध बगाउँदा तुराङ्ग गाविसका जनता अँध्यारोमा बस्न बाध्य भएका छन् भने प्रशस्त खेत समेत यस पाली बाँझै रहने भएको छ ।
हुग्दी खोला लघु जल विद्युत परियोजना तुराङ्ग–१, २ र ३ को बाँध र नहर समेत बगाउँदा त्यहाँका २ सय ८४ घरधुरी उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएको र तुराङ्गका १ सय २६ घरधुरी कृषकको करिव ९० हेक्टर खेत समेत यस पाली बाँझै रहने अवस्था रहेको तुराङ्ग गाविस सचिव लोकनाथ पोखरेलले बताए ।
‘९० हेक्टर खेत मध्ये आधा जति रोपाई भए पनि सिंचाई हुन नसक्दा धान मरेको छ’– गाविस सचिव पोखरेलले भने –‘ आधा भन्दा बढि खेत बाँझै रहने भएकोले कृषकहरु ठुलो चिन्तामा छन् । ’
उनका अनुसार २०५७ सालमा गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजना –(गार्डेप ) को प्राविधिक सहयोगमा तुराङ्गका जनताले प्रति व्याक्ति रकम संकलन, श्रमदान र बैंकमा ऋण काढेर निर्माण गरेको थिए । उक्त परियोजना बाढिले बगाँदा करिव १५ लाख बरावरको क्षति अनुमान गरिएको गाविस सचिव पोखरेलले बताए ।
बाढिले बाँध सुरु कै गतिमा निमर्ण गर्नु पर्ने गरी बगाएको र करिव ४० मिटर नहर समेत भत्काएकोले कृषक आफै रकम उठाएर मर्मत गर्न नसक्ने भएको बताईएको छ । गाविस सचिव पोखरेलले भने–‘ यस कारणले पनि सम्वन्धित निकायको मुख ताक्नु पर्ने अवस्था आएकोले सहयोगका लागि सबै संग अपिल गर्दछौं । ’
एउटै गाविसको ९० रोपनी खेत बाँझै रहने गरी बाढिले क्षति पुराउनु यो वर्षको वर्षयामको सवै भन्दा ठुलो क्षति हो । यस प्रति सम्वन्धित निकाय, यहाँको राजनैतिक दलहरु गम्भीर हुनु पर्ने देखिएको छ । तस्वीरः क्षतिग्रहस्त हुग्दीखोला लघुजल विद्युत परियोजनाको बाँध र नहर
0 comments:
Post a Comment