नेपाल जापान डट कम सम्बाददाता-
त्यस्तै मौरी केरेनाको रु ७०० देखि रु एक हजार र मेलिफेराको रु ४०० देखि रु ५०० सम्ममा बिक्री हुँदै आएको छ । नेपालमा मेलिफेरा जातको मौरीको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
विश्वमा नौ थरीका मौरीबाट मात्र मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ । यति भए पनि नेपाल महमा समेत परनिर्भर भएपछि सरकारले निजी क्षेत्रका उद्यमीहरूलाई मह उत्पादनमा लगानी गर्न आह्वान गरेको छ ।
नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गर्दै आएको नेपाल केन्द्रीय मह व्यवसायी सङ्घका अध्यक्ष धर्मराज श्रेष्ठले बताउनुभयो ।
मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको कृषि बहस कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले मह उत्पादनमा निजी क्षेत्रको प्रस्ताव आए छ प्रतिशत ब्याजमा लगानी गर्न सरकार इच्छुक रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कृषि उत्पादनमा सरकारको कर नीति स्पष्ट भए निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न सकिने बताउनुभयो ।
आर्थिक वर्ष ०७१।०७२ को बजेटले कृषि उत्पादनका लागि सरकारले रु एक अर्बको ब्याज रकम विनियोजन गरेको छ । व्यावसायिक खेती गर्न चाहने सहकारी, कम्पनी तथा कृषक समूह एवम् निजी फर्म सञ्चालकका लागि सरकारले सो रकम विनियोजन गरको हो ।
नेपालमा मेलिफेरा र केरेना जातको मौरीबाट व्यावसायिक मह उत्पादन कार्य हुँदै आएको छ । मेलिफेराका ३५ हजार घार र केरेनाबाट एक लाख २५ हजार गोलोद्वारा करिब २१ लाख केजी मह उत्पादन हुँदै आएको बताइन्छ । उत्पादित मह स्थानीय बजारमा खपत हुँदै आएको छ ।
सरकारले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र मानेको छ । जसका लागि मौरी घार तथा मौरीका लागि रु २० करोड विनियोजन गरेको कृषि विकास मन्त्रालय, योजना महाशाखाका सचिव रामप्रसाद पुलामीले जानकारी दिनुभयो ।
“युवा तिमी फर्क र यहाँ केही गर” भन्ने उद्देश्यले वैदेशिक रोजगारमा ओइरिरहेका युवालाई लक्षित गरी सो रकम विनियोजन गरिएको मन्त्रालयको भनाइ छ ।
सरकारले मौरी चराउन लैजाने ट्रक तथा अन्य उपकरणका लागि ५० देखि ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्थाबाट युवा वर्ग मौरीपालनमा आकर्षित हुन सक्ने सम्भावना छ ।
विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्दछन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको कीट विकास निर्देशनालयका निर्देशक जगदीशभक्त श्रेष्ठले जानकारी दिनुभयो । नेपालले प्रति वर्ष २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ ।
नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ । नेपाली महले विश्व बजारमा अर्गानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको छ । महका अन्तर्राष्ट्रिय व्यापारी नेदरल्यान्ड निवासी जोन हकले नेपालले उत्पादन गरेको सबै मह आफूले खरिद गरिदिने बताउनुभयो ।

0 comments:
Post a Comment