नेपाली समाजमा ‘फेसबुक विवाह’


शनिबार , ७ भदौ २०७१
मागी विवाह’ र ‘प्रेम विवाह’ हुने गरेको नेपाली समाजमा अब नयाँ प्रचलन थपिएको छ– ‘फेसबुक विवाह’
फेसबुकमा पठाएको सन्देशको तीन महिनासम्म पनि जवाफ नआएपछि २८ वर्षीय कुमार आचार्यले बन्दनालाई ‘ब्लक’ गरे । दिनमा २३ वटासम्म म्यासेज पठाउँदा पनि युवतीले बेवास्ता गरेपछि निराश भएर कुमारले उनलाई ‘ब्लक’ गरेका थिए ।
कुमार र बन्दना
त्यो अवधिमा बन्दनाले आफ्नो ‘स्टाटस’ अपडेट गरेकी थिइनन् र उनी कुमारप्रति आकर्षित छन् भन्ने संकेत पनि दिइनन् ।
तर पनि कुमारले हरेस खाइसकेका थिएनन् । उनले बन्दनालाई नयाँ फ्रेन्ड रिक्वेस्ट पठाए, अनायासै त्यो स्वीकृत भयो, सम्बन्ध पनि बढ्दै गयोे र अन्ततः दुवैले विवाह गरे ।
“मैले उसका सबै म्यासेज पढेकी थिएँ, तर कुनै जवाफ फर्काइन,” २४ वर्षीया बन्दना मुस्काउँदै भन्छिन्, “मैले उसको परीक्षा लिइरहेकी थिएँं ।”
कुमार र बन्दना जस्तै सामाजिक सञ्जालमा चिनापर्चीपछि विवाह गर्नेहरु काठमाडौंमा थुप्रै छन् । कुमारकी आमाले कैयौं केटीका प्रस्ताव ल्याए पनि उनले फेसबुकबाटै जीवनसंगिनी छनोट गरे ।
त्यसैले सामाजिक सञ्जाल अहिले नेपाली युवाका लागि नयाँ लमी बनेको छ । नेपालमा फेसबुक प्रयोगकर्ता ४० लाख पुगेसँगै यो सञ्जालकै माध्यमबाट अझै धेरै जोडी बन्नेमा शंका छैन ।
फेसबुकमा भौगोलिक दुरीको पनि खासै महत्व हुँदैन, संसारको एउटा कुनाका पुरुष वा महिला अर्को कुनाका पुरुष वा महिलासँग जोडी मिलाइरहेका हुन्छन् ।
यद्यपि, अपरिचितका ‘रिक्वेस्ट’ युवतीले सहजै स्वीकार नगर्ने हुँदा यस्तोमा परिवार र आफन्त सहयोगी भइदिन सक्छन् ।
“मेरो काकाको छोराको बन्दनासँग चिनजान थियो, त्यसैले पनि बन्दनासँग गाँसिन मलाई सजिलो भयो,” कुमार भन्छन् । फेसबुकबाट बनेको यो जोडीले परम्परा निर्वाह गर्ने क्रममा विवाहअघि ज्योतिषीको समेत सल्लाह लिए, परिवारको सहयोगमा विवाह गरे ।
कहिल्यै नभेटेकी शान्तिलाई सुरेश गुरुङले ‘भ्यालेन्टाइन डे’ मा प्रस्ताव गरे । २४ वर्षे सुरेशलाई भावी श्रीमती शान्तिको साथी बन्नमा उनकी बहिनीले सघाएकी थिइन् ।
फेसबुकमै रमाउने शान्तिलाई पट्याउन सुरेशलाई त्यति अप्ठ्यारो भने भएन । शान्ति सुरेशका सबै म्यासेजको जवाफ दिन्थिन् ।
“उसको प्रोफाइल हेरेपछि लाग्यो– मैले बिहे गर्ने केटी यही नै हो,” सुरेश भन्छन् । त्यसपछि उनले कहिल्यै नभेटेकी शान्तिलाई फेसबुकमै विवाहको प्रस्ताव गरेका थिए ।
सुरेश र शान्ति
सुरेश र शान्तिले आफ्नो प्रेमविवाह भएको बताए भने कुमार र बन्दनाले आफ्नो विवाह “अरेन्ज्ड” भन्छन्, तर वास्तवमा दुवै विवाह ‘फेसबुक विवाह’ हुन् ।
कुमार र बन्दनालाई भेट्दा एक–अर्काको हात अँठ्याएर मस्किंदै गरेको त्यो जोडी पहिल्यैदेखि गहिरो प्रेममा छ भन्ने प्रस्टै हुन्थ्योे ।
सामाजिक सञ्जालमा जोडी बनाउन सजिलो भए पनि फेसबुकले गर्दा कैयौं जोडी छुट्टिनु पनि परेको छ । बन्दनाले अचेल कुमारलाई फेसबुकमा समय बिताउन दिंदैनन् । “उसले अरु केटीसँग कुरा गरेको मलाई मन पर्दैन,” कुटिल मुस्कान छर्दै बन्दनाले भनिन् ।
यता सुरेशले भने आफ्नी पत्नीको फेसबुकमा चियोचर्चो गरिरहेका छन् । “उसको तस्वीरमा कसैले कमेन्ट गर्‍यो भने त्यसका बारेमा सोधखोज गर्छु,” सुरेशले हाँस्दै सुनाए ।
फेसबुक जस्ता समाजिक सञ्जालमा नक्कली ‘आइडी’ बनाएर अरुलाई सताउने पनि प्रशस्तै हुन्छन् । गत हप्तामात्रै प्रहरीले सिन्धुपाल्चोकका ३० वर्षीय रामकुमार स्याङवोलाई एक महिलाको उजुरीका आधारमा पक्राउ गरेको छ । स्याङबोले अश्लिल सन्देश र तस्वीर पठाउने गरेको साथै यौनसम्बन्धका लागि दबाब दिने गरेको महिलाको आरोप छ ।
प्रविधिको विकाससँगै नेपालको सामाजिक जीवनको एउटा पाटो अवास्तविक (भर्चुअल) संसारमा रमाउन थालेको छ । फेसबुकको खुट्याउन नसकिने वास्तविकता वास्तविक मानिसहरु भन्दा पनि बढी वास्तविक ठानिएको देखिन्छ ।
कुमार र बन्दना दुबैले आफ्ना जोडी वास्तविक जीवनमा निकै फरक भएको स्वीकार्छन् ।
“फोटोमा उनी अवोध देखिन्छिन्,” कुमार भन्छन् । “र ऊ फेसबुकमा निकै गम्भीर देखिन्थ्यो,” बन्दनाले भनिन् । फेसबुक एकप्रकारको मुखौटा हो जहाँ मानिसहरु आफ्नो सपनामा बाँच्छन् र आफूले चाहेजस्तो आदर्श रुपमा प्रस्तुत हुन्छन्– वास्तविकता भन्दा बेग्लै ।
तर, यसले टाढा रहेका आफन्तसँग कुराकानी गर्न, छिमेकमै रहेका युवा युवतीबीच चिनजान गराउन पनि सहज बनाइदिएकोे छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment