२० साउन, पांग्रेटार (सिन्धुपाल्चोक) । भविष्यका योजना बुन्दै शुक्रबार राति सुतेका सिन्धुपाल्चोकको जुरेबासीले उज्यालो देख्न पाएनन् । शनिबार विहान सिंगो पहाड नै खसेर पुरेपछि जुरे गाउँ अहिले बगरमा परिणत भएको छ । गाउँसँगै पुरिएर ज्यान गुमाएका स्थानीयको शव उद्दारकर्मीले धमाधम निकालिरहेका छन् । पहिरोमा परेर वेपत्ता भएकामध्ये ३३ जनाको शव निकालिसकिएको छ । सुरक्षाकर्मीले डोजरको सहयोगमा शव निकाल्दै गर्दा मृतकका आफन्तको रुवाबासीले सुनकोशी बगर शोकमा डुबेको छ ।
गहिरो निद्रामा डुबेका स्थानीयालाई पहिरोले एक चिहान बनाएपछि अहिले उनीहरुका लागि रोइदिने मानिससमेत छैनन् । पहिरोमा परिवारै परेका केही स्थानीयका लागि आँसु खसाइदिने समेत कोही छैनन् । सुनकोशी बगरबाट डोजरले उधिन्दै शव निकालेको दृश्य देख्दा नभक्कानिने सायदै होलान् ।
प्राकृतिक विपत्तमा परेर अझै डेढसय स्थानीय वेपत्ता छन् । वेपत्ता स्थानीयका आफन्तले लाश नदेखुन्जेल उनीहरुले संसार छाडेको विश्वास गरिरहेका छैनन् । केही स्थानीयले वेपत्ता आफन्त नर्फकने ठहर गरी कुशको शव बनाएर दाहसंस्कार पनि गरिसकेका छन् । सास हुन्जेल आश हुन्छ भनिन्छ । आफन्त गुमाएका जुरेबासीहरु सुनकोशी बगरमा टोहोलाउँदै हराएका आफन्त र्फकने आशमा दिनरात काटिरहेका छन् ।
तस्वीरः विवेक सुवेदी
भिडियो

0 comments:
Post a Comment