२३ साउन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा डन दिनेश अधिकारी ‘चरी’ मारिएको बताएका छन् ।
चरीको सुनियोजित हत्या भएको भन्दै सत्तारुढ एमाले सभासदहरुले संसदमा हंगामा गरेपछि गौतमले रोष्टममा उपस्थित भएर जवाफ दिएका हुन् ।
गृहमन्त्री गौतमले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको र जिल्ला अदालत काठमाडौं तथा जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फैजदारी मुद्दा चलिरहेको बताए ।
चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्दा खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्रीले बताए । ‘प्रहरीलाई शंका लागि पक्राउ गर्दा खोज्दा निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले जवफी कारबाहीमा निजको मृत्यु भएको हो’ उनले भने ।
घटनाबारे गृह मन्त्रालयले समेत विवरण संकलन गरिरहेको उनले बताए ।
गौतमका अनुसार चरीविरुद्ध काठमाडौं प्रशासनमा हात हतियार तथा खरखजना, जिल्ला अदालतमा सवारी अंग भंगको मुद्दा चलिरहेको छ । यस्तै राधा भण्डारीमाथि खुकुरी हानी ज्यान मार्ने उद्योग गरको, हरिप्रसाद काफ्ले शर्मासँग ज्यान मार्ने धम्की दिइ रकम असुल गरेको र अपहरणको प्रयास गरेको, नवराज अधिकारीसँग पनि रकम मागेको र अवैध हातहतियार भित्र्याएको उजरी छ ।

0 comments:
Post a Comment