मदना भन्छिन्- जहाँ पातलो, त्यहीँ प्वाल पर्दोरहेछ !

बाढीपीडित बिरामी हुन थाले, राहत पुगेन

२०७१ भदौ ३ गते 
आरपी सुवेदी
३ भदौ, नेपालगन्ज । विपत्तिले धनी र गरीब केही भन्दैन । तर, गरीवीले थिचेकाहरुलाई प्राकृतिक प्रकोपले पनि अलि बढी नै थिच्दोरहेछ । बाँके उढरापुर-२ आठविगाहकी मदना सुनारले मानखोलाको बाढीले छाप्रो बगाइदिएपछि आफ्नो दुःखमा यसरी विम्व प्रयोग गरिन्-’जहाँ पातलो, त्यहीँ प्वाल पर्दोरहेछ ।’
‘एक त मलाई पहिल्यैदेखि यस्तै दुःख थियो, अब झन ओत लाग्ने घर नै बगी गयो, साथमा अब खाने कुरा त परै जावस् लगाउनलाई एउटा धरोे पनि छैन’ वेदना सुनाउँदा केही भैहाल्छ कि भन्ने ठान्दै उनले थपिन् – ‘मेरो जीउ सुन्निएको छ, बच्चाहरु पनि सुन्निएका छन् । चार दिन भयो, बच्चा र मैले खान पनि पाएका छैनौं ।’
Madana-sunar
साथमा ४ वर्ष, ३ वर्ष र २ वर्षका तीन सन्तानको भविश्य बोकेकी मदनासँग न कुनै ओत लाग्ने ठाँउ छ, न त शरीरमा रहेका चिसाबाहेक अरु लुगा नै छन् । लालाबालाको शरीरमा त झन् उनको जीउमा जति पनि लुगा छैनन् ।
मानखोलाले छाप्रो बगाएपछि स्थानीय जनकल्याण प्राविमा आश्रय खोज्दै आएकी मदनाले चिसोले भिजेका र भोकले ब्याकुल हुँदै रोइरहेका हिलाम्ये बच्चालाई फुलाउने कोशिष गर्दै गरिन् । उनले भनिन्-’कमाउनेे श्रीमान पनि भारत पसेको दुई वर्ष हुन लाग्यो, अत्तोपत्तो छैन ।’
मदनाले थपिन्- ‘सम्पत्तिका नाममा बस्ने झुप्रो थियो, त्यो पनि मानखोलाले लगी गयो । यी लालाबाला लिएर कहाँ जाऊँ साहेब ? लौन मेरो बन्दोबस्त गरिदिनुपर्‍यो ।’
चिसोले भिजेका कारण उनका र बच्चाका गोडा सुन्निएका छन् । ‘बच्चाहरु भोकले आक्रान्त भएर दूध चुस्न खोज्छन् । मेरो गति यस्तो छ, त्यसमा पनि शुक्रबारदेखि खाना पनि पाएकी छैन,’ मदनाले भनिन्-’आइतबार बेलुकी छिमेकीको पिँढीमा सुत्यौं । खानेकुरा बाँड्न आएका छन् भन्ने थाहा पाएर स्कुलमा आएकी, उनीहरु गैसकेछन्, आज पनि भोकै बस्नुपर्ने भयो ।’
उढरापुर वार्ड नं २ का वडा नागरिक मञ्चका संयोजक ओम पौडेलले मदनाको बस्ने छाप्रोबाहेक केही नभएको बताए । मदनाले गाउँमा अर्काको काम गरी आफ्नो र बच्चाको गुजारा चलाउँदै आएको पौडेलले जानकारी दिए ।
पौडेलले भने- ‘यिनको बस्ने झुप्रोबाहेक केही थिएन, छरछिमेकमा काम गरेर आफ्ना र बच्चाहरुको पेट पाल्दै आएकी थिइन् । अब त बस्ने घर पनि बाढीले लगिदियो सबै बिजोग छ । हामीले पनि आफ्नै अवस्था नाजुक छ, केही सहयोग गर्न सकेका छैनौं ।’
सुत्दा लखपति ब्युँझदा सुकुम्बासी
‘साँझ सुत्दा सबै थियो, बिहान उठ्न नपाउँदै सबै हरायो’ बाँके उढरापुर-२ आडविगाहका बाढीपीडित ईश्वरी भण्डारीले भनिन् । गत बुधबारदेखि परेको अविरल बर्षाका कारण बाँके र बर्दियाको सीमानामा रहेको मान खोलामा आएको बाढीबाट पीडित भण्डारीले कहालीलाग्दो रात सम्झँदै भनिन्, ‘साँझ सुत्दा मनमा केही मात्र भए पनि डर थियो, यति सारो होला भन्ने सोचेकी पनि थिइँन, बिहानै खोला उर्लेको रहेछ छोराहरु खोला हेर्न गएका बेला सबै डुवायो ।’
भण्डारीले बाढीबाट ३ सय कुखुरा र माछालगायत अन्नपात, लत्ता कपडा सबै बगाएको बताइन् । आफु र नाति नातिना मात्र लिएर बाहिर निस्केको बताउने भण्डारीको ९ जनाको परिवार छ । उनी यतिवेला जनकल्याण प्रावि उढरापुरमा आश्रय लिएर बसेकी छन् ।
janasewa-mab-ka-badi-pidit
आफ्नो जीवनकालमा पहिलोपटक यस्तो बितण्डा भोगेको अर्का पीडित ६६ वर्षीय खमानसिंह सुनारले बताए । जनसेवा मावि उढरापुरमा आश्रय लिएका उनले भने, ‘बिहान उज्यालोमा भएर बाँचियो, राति भएको भए सबै सकिने रहेछ ।’
मानखोलाको बाढीले उढरापुरको झण्डै सय घर ध्वस्त बनाएको छ । सो बाढीबाट ४सय १८ जना प्रभावित भएको र २ सय ६३ व्यक्ति पूर्ण रुपले घरबारबिहीन भएको वडा नागरिक मञ्चका संयोजक ओम पौडेलले जानकारी दिए । सो बाढीबाट प्रभावितहरु नजिकैका दुई विद्यालय र आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
बाढीपीडित बिरामी हुँदै 
बाढी पीडितहरुमा विभिन्नखालको विमारको लक्षण देखिन थालेको छ । उनीहरुमा आँखा पाक्ने, झाडा पखाला, भाइरल ज्वरो, निमोनिया, आँउ, रगतमासी, टाउको दुख्ने, जीउ चिलाउने र छालाको संक्रमण देखिन थालेको छ ।
बाढीपीडितहरुमा विभिन्न संक्रमण देखिन थालेपछि उढरापुर स्वास्थ्य चौकीका ईन्चार्ज खडानन्द भट्टराईले आफु र अनमी लक्ष्मी कार्कीको सहयोगमा बाढी प्रभावितहरु बसेको ठाँउमै पुगेर चेकजाँच गरी औषधी वितरण गरेको बताए । उनले सबैभन्दा बढी संक्रमण बालबालिका र महिलामा देखिएको र उनीहरुमा संक्रमण नफैलियोस् भनेर समयमै आफुहरु सचेत रहेको बताए ।
दुई दिनमा १ सय ४७ बाढी पीडितहरुको स्वास्थ्य चेकजाँच गरी उनीहरुलाई औषधी वितरण गरेको भट्टराईले जानकारी दिए । बाढी प्रभावित ठाँउमा खानेपानीका कारण विभिन्न खालको संक्रमण हुन सक्ने भएकाले पानी निर्मलीकरणका लागि समान उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।
९ जनालाई आधा किलो चिउरा
बाढी प्रभावित सो क्षेत्रमा दुईदिनदेखि मात्र एक समयमा परिवार ठूलो सानो नहेरी एकै नासले खाद्यान्न वितरण गरेकाले ठूलो परिवारका बच्चा तथा महिलाहरु भोकभोकै रहेको गुनासो गरे ।
बाढीपीडित ईश्वरीले आफ्नो परिवार ९ जनाको छ, तर आफूहरुलाई आधा किलो चिउरा मात्रै मिलेको बताइन् । आधा किलो चिउरा कसले खाने, कसले हेर्ने ?
नजिकै रहेका कर्णबहादुर बिकले राहतका नाममा आएको चिउरा भुजा अत्यन्तै थोरै भएको र त्यो पनि २४ घण्टामा एकपटक मात्र आउने हुनाले चिउरा र चाउचाउ भन्दा त्रिपाल दिए आफ्नै घर नजिकै टाँगेर जेनतेन गुजारा गर्ने बताए ।
यसैबीच बाढी प्रभावित क्षेत्रमा महिला तथा बालबालिकाको अवस्थाका बारेमा जिल्ला बालसंरक्षण समितिको अगुवाइमा स्थलगत अनुगमन गरिएको छ । सो अनुगमन टोलिमा सेभ द चिल्ड्रेन, युनिसेफ नेपाल, महिला तथा बालबालिका कार्यालय, पत्रकार महासंघ बाँके, ईम्प्रोकका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका छन् ।
उनीहरुले बाढी पीडितहरुलाई न्यानो कपडा, खानेकुरा र सफा पिउने पानीको अभाव देखिएको युनिसेफका बालसंरक्षण अधिकृत रामप्रसाद गौतमले जानकारी दिए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment