काठमाडौं, श्रावण १९ । नेपालको दुई दिने भ्रमणमा हिजो काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति नाथमा आज विशेष पूजा आराधना गरेका छन् । पशुपतिनाथको पूजा–अराधनाका लागि उनी बिहान साँढे ९ बजे मन्दिर प्रवेश गरेका थिए ।
करिब एक घन्टा लगाएर उनले विशेष पूजा गरेका थिए । आज साउने सोमबारको समेत अवसर परेकाले मोदीले शिव मन्दिरमा विशेष रुद्राभिषेक गरेका हुन् ।
यही क्रममा प्रधानमन्त्री मोदीले तीन करोड मूल्य बराबरको २५ सय केजी श्रीखण्ड पशुपति विकास कोषलाई हस्तान्तरण गरे ।
मोदीको पूजाका लागि पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था मिलाएको थियो । १०५ ब्राह्मणले वेद पढेर मोदीलाई पशुपतिनाथ मन्दिरमा स्वागत गरेका थिए । पूजा मूलभट्ट गणेशबाट गराइएको थियो ।
मोदीले पशुपति विकास कोषको सहयोगका लागि २५ करोड भारतीय रुपैयाँको सहयोग दिने बताइएको छ । उक्त रकमले मन्दिरमा चार सयजना अट्ने धर्मशाला बनाइने छ ।
यता, पशुपतिनाथको पूजा सकाएलगत्तै ट्वीट गर्दै मोदीले पशुपतिनाथ मन्दिरमा प्रार्थनापछि आशिष पाएको महशुस गरेको उल्लेख गरेका छन् ।

0 comments:
Post a Comment