चार घण्टा ‘सभासद’ हुँदा रुक्मिणी कोइरालाको अनुभव

सुशील दाइसँग गुनासो छैन, मन्त्रीहरुसँग मात्रै

२०७१ भदौ २३ गते 
Rukmini-Koirala
राजकुमार श्रेष्ठ
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ रुक्मिणी कोइराला मन्त्रिपरिषद्बाट मनोनित सभासद त भइन् । तर, चार घण्टा बित्न नपाउँदै उनलाई हटाइयो ।
समानुपातिक सूचीमा नाम रहेकाले कोइरालाको मनोनयन सर्वोच्चको आदेश विपरीत भएको भन्दै समाचार आएपछि सरकारले उनको नाम हटाएको हो । तर, उनकै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारले उनलाई न मनोनयनको आधिकारिक सूचना दियो, न हटाएको नै जानकारी गरायो ।
‘साथीले फोन गरेर बधाइ दिएपछि मैले मनोनित भएको थाहा पाएँ’ कोइरालाले अनलाइनखबरसँग भनिन्-तपाईको नाम हटाएको सुनियो भनेर पनि साथीले नै फोन गर्नुभएको थियो ।’
सभासद मनोनित भएपछि उनलाई कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि फोन गरेर कोइरालालाई बधाइ दिएका थिए । उनले भनिन्-‘मलाई पनि लागेको थियो कि मेरो योगदानको मूल्यांकन पार्टीले गर्‍यो ढिलै भए पनि ।’
तर, चार घण्टा बित्दा नबित्दै उनको नाम हटाइयो र सपथ नलिँदै सभासद पद खोसियो । धेरैले उनलाई चार घण्टे सभासद भने पनि उनी भने आफूलाई सभासद मान्न तयार छैनन् । किन ? उनी भन्छिन्- ‘किनभने मन्त्रिपरिषद्ले मनोनित गरे पनि सपथग्रहण नगरेसम्म सभासद भनेर मान्ने अवस्था आउँदैन । त्यसकारण म आफूलाई सभासद भन्दिँन ।’
हटाइयो भन्ने शब्दले बिझाइरहेछ
सर्वोच्चको आदेशपछि मनोनितमा पर्न आफूले कुनै पहल नगरेको भन्दै कोइरालाले अहिले सभासद हुन नपाएकामा खासै दुःख नलागेको बताइन् ।
‘मलाई यो पदका लागि कुनै इच्छा आकांक्षा थिएन’ उनले भनिन्-‘राजनीतिको दुई अक्षर बुझेको मान्छेले सर्वोच्चको यो निर्णयपछि मलाई राख, मनोनित गर भनेर हिँड्ने प्रश्न नै आउँदैन ।’
तर, मन्त्रिपरिषद्बाट मनोनित गरेर ‘हटाइयो’ भन्ने शब्दले उनलाई अहिले पनि बिझाइरहेको छ । ‘एउटा अपराधीजस्तो व्यक्तिलाई मनोनित गरेछौं, त्यसैले हटाइयो भनेजस्तो भयो’ केही भावुक हुँदै उनले भनिन्- ‘यो शब्दले मलाई पिन्च गरेको छ । यो शब्दले अहिले पनि ….।’
कोइरालाको छेउमा बसेका पति शैलेश कोइरालाले थपे- ‘सच्याइएको भन्नुपथ्र्यो ।’ शैलेश पनि कांग्रेसका पुराना नेता हुन् । विवाह गरेपछि नै आफू कांग्रेसको राजनीतिमा लागेको रुक्मिणी बताउँछिन् ।
सभासद भएको केही घण्टासम्म बधाइको ओइरो लागेको थियो । धेरैपछि साथीभाइसँग सम्पर्क भएको थियो बधाइ दिने बहानामा । तर, हटाइएको समाचारले उनलाई केही नरमाइलो त लाग्यो नै ।
‘एकदुई दिन त सम्हाल्न गाह्रो भयो । तर, राजनीतिमा यस्तो हुन्छ’ उनले सुनाइन्- अहिले म आफ्नो नियमित काममा फर्किसकेकी छु ।’
प्रधानमन्त्रीलाई धन्यवाद
रुम्किणी यो प्रकरणमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले कुनै आरोप लगाउन चाहन्नन् । बरु धन्यवाद दिन्छिन् । उनले भनिन्- ‘किनभने उहाँले सम्भिmनुभो, पर्नुपर्ने व्यक्ति छुटेको रहेछ भनेर उहाँलाई सम्झना रहेछ । म ९ जनामा पर्ने मान्छे रहेंछु भन्ने त मानिसहरुले बुझे नि ।’
चाहँदा चाहँदै पनि हिजो सभासदमा आउन नसकेकालाई प्रधानमन्त्रीले परिपूर्ति गर्न खोजेको र पार्टीमा आफ्नो के लगानी छ भन्ने बुझेको रुक्मिणीको निष्कर्ष छ ।
तर, सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुसँग भने उनको गुनासो छ । उनले भनिन्-‘प्रधानमन्त्रीले नाम प्रस्ताव गर्दा त समानुपातिकमा छ भनेर सम्झाउनु पर्ने हो नि उहाँहरुले । प्रधानमन्त्रीलाई सम्झना नहुन सक्छ ।’
उनको कुरामा सही थप्दै पति शैलेश भन्छन्-‘दुईजना मन्त्री त मोरङ ६ नम्बर क्षेत्रकै छन्, हामी ७ नम्बरको ।’
के भएको भनेर औपचारिक जानकारी नआएपछि रुम्किणीले प्रधानमन्त्रीलाई फोन भने गरेकी थिइन् । प्रधानमन्त्रीले गल्ती भएकाले सच्याइएको भन्दै भेटेरै कुरा गरौंला भनेको उनले सुनाइन् । ‘भेटेरै कुरा गरौंला भन्नुभयो तर मैले भेट्ने कोशिश गरिँन’ उनले भनिन् ।
कुराकानीका क्रममा उनी पटक-पटक ‘हटाइयो’ शब्दले बढी पिन्च गरेको दोहोर्‍याउँथिन् ।
१०/१२ को पुस्ता टाढाको सम्वन्ध
प्रधानमन्त्री कोइरालालाई उनी दाइ भन्छिन् । हुन त कांग्रेसमा ठूलालाई दाइ नै भनिन्छ । तर, कोइराला नै भएकाले सुशील र रुक्मिणीको नाता सम्बन्धको खोजी भयो ।
‘हामी धेरै टाढाको पर्छाै । हामी १०/१२ को पुस्ताको पर्छाैं’ रुम्किणी र शैलेश दुबैले एकसाथ भने ।
थप जिज्ञासा राखेपछि मोरङ कांग्रेसका नेतासमेत रहेका शैलेशले वेलिबिस्तार लगाए- ‘नातामा म दाइ नै भन्छु । तर, नजिक गिरिजाबाबु हो । सुशील र गिरिजाबाबुका आमा दिदीबहिनी हुनुभो । गिरिजाबाबुसँग हाम्रो नाता पर्छ । उहाँको बुबा कृष्णप्रसाद कोइरालाको नाताले गिरिजाबाबु मेरा काका हुन् । बंशावली सातौं पुस्ताको । सुशीलसँगै १०/१२ पुस्ता मात्र पर्छ ।’
नाता-सम्वन्धको कुरा गर्दा रुक्मिणीले थपिन्-‘कांग्रेसमा मेरो के लगानी छ ? निरन्तरता छ कि छैन भनेर ध्यान दिनुपर्छ । कांग्रेसमा साधारण सदस्य पनि नभएका मान्छेहरुलाई पनि सभासद बनाइएको छ ।’
आफूले पार्टीमा गरेको योगदान र लगानी सम्झेर नै सभासद बनाउन खोजेको उनको दाबी छ ।
जब नयाँ पालुवा पलायो ..
शैलेश कोइराला १५ सालमा बीपी कोइरालालाई भोट माग्दै कांग्रेसको माइक फुकेर हिँड्थे । प्राध्यापन पेशा छाडेर राजनीतिमा लागेका उनी महाधिवेशन प्रतिनिधिसम्म भए । अहिले क्षेत्रीय प्रतिनिधि छन् ।
बीपीलाई ०३३ सालमा विमानस्थलमा स्वागत गर्न शैलेश र उनका भाइलाई पछ्याउँदै रुम्किणी पनि गएकी थिइन् । ‘०३६ सालबाट भने पूर्णरुपमा पार्टीमा लागेकी हुँ’ महिला संघको उपाध्यक्षसम्म भएकी उनले भनिन् ।
०४६ पछि पार्टीमा सुकिला-मुकिला अगाडि आएका उनीहरुको बुझाइ छ । ‘पालुवाहरु पलाउँदै गए’ शैलेश भन्छन्-‘हामीले पदको अपेक्षा गरेका छैनौं ।’


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment