२३ भदौ, काठमाडौ । वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिएपछि वैदेशिक रोजगारीका लागि दुबई जान आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका २० जना युवालाई अध्यागमन कार्यालयले नक्कली भिसा भन्दै फिर्ता गरेकेा छ । ती युवालाई बसुन्धरास्थित एसओएस म्यानपावरले दुबईको फ्यूचर पाइप इण्डष्ट्रीमा पठाउन लागको थियो ।
वैदेशिक रोजगार विभागले सक्कली भिसा भन्दै ती युवालाई वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति दिएको थियो । त्यही स्वीकृतिका अधारमा जान लागेका युवालाई विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतले भने फिर्ता गरिदिए, अन्नपूर्ण पोष्टमा खबर छ ।
युवाले बोर्डिङ् पास पाइसकेपछि अध्यागमनका कर्मचारीले भिसा परीक्षण गरेका थिए । परीक्षण गर्दा सक्कली कागज नभएको र इन्टरनेटमा हेर्दासमेत सक्कली भिसाको रेकर्ड नपाएपछि जान रोकेको अध्यागमनका उपसचिव रामराज सुवेदीले बताए । वैदेशिक रोजगार विभागले सक्कली भिसा नभएसम्म अन्तिम श्रम स्वीकृति दिन मिल्दैन । एसओएसले फिर्ता भएका कामदारको अन्तिम श्रम स्वीकृति लिने बेलामा भिसा नक्कली पेश गरेको थिएन । एसओएस म्यानपावर कम्पनीका प्रवन्ध निर्देशक सोमलाल बटाजुले सक्कली भिसा कागज बेगरै वैदेशिक रोजगार विभागले इन्टरनेट रेकर्डका अधारमा अन्तिम श्रम स्वीकृति दिएको बताए ।
वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीबहादुर कार्कीले अन्तिम श्रम स्वीकृतिका लागि सक्कली भिसा अनिवार्य हुने बताए ।
0 comments:
Post a Comment