आजबाट बोलबम मेला सुरु, देवघाटमा भक्तजनको घुइँचो


रत्ननगर (चितवन), साउन ५ । साउन
महिनाको पहिलो सोमबार आजबाट बोलबम मेला सुरु भएको छ ।
चितवनको पवित्र तीर्थस्थल देवघाटधामलगायत विभिन्न
शिवालयमा आजबाट बोलबम मेला सुरु भएको हो । आज
साउनको पहिलो सोमबार भएकाले आइतबार साँझदेखि नै
देवघाटधाममा भक्तजनको घुइँचो लागेको छ । मेला भर्न
भारतबाट समेत भक्तजन आएको देवघाट क्षेत्र विकास
समितिका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।
महिनाव्यापी हुने
मेलाका लागि सुरक्षा व्यवस्था मिलाउनुका साथै स्नान गर्ने
क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाएको उहाँले
बताउनुभयो । चितवन, नवलपरासी र
तनहुँको सङ्गमस्थलमा रहेको देवघाटधाममा यो महिना लाखौँ धार्मिक
पर्यटक आउने गर्दछन् । आज बिहानै हजारौँ भक्तले स्नान
गरिसकेको र यो क्रम दिउँसोसम्म जारी रहने छन् । यस्तै
चितवनको महाकालेश्वर मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर,
माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि सोमबारे
मेला अर्थात् बोलबम मेला सुरु भएको छ ।
महाकालेश्वर शिव मन्दिरमा भने आजदेखि १० दिनसम्म
शिवपुराण लगाउन सुरु भएको स्थानीय महेश्वरी थापाले
जानकारी दिनुभयो । यो समयमा महिलाहरू हरियो कपडा र
चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर
पूजा गर्ने गर्दछन् । देवघाटको पवित्र जल र बेलपत्रले
शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई
सुखशान्ति मिल्ने विश्वास छ । मेलामा साउनको हरेक सोमबार
निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र
तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।
यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु
र परिवारको सुखसमृद्धिको कामना गर्दछन् भने
अविवाहिता महिलाले असल
श्रीमान्को कामना गर्दा मनोकामना पूरा हुने विश्वास
रहेको पुजारी माधव सापकोटाले बताउनुभयो । रासस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment