बाँदर आतंक विरुद्ध सुरक्षा फौज तैनाथ
प्रेम सुनार
गुल्मी , साउन–१४ । घर भित्रै समेत पसेर बाँदरले महिला र वाल वालिकाहरु झम्टीएर आतंकित पारेपछि गुल्मी अर्खले गाउँका महिलाहरु त्यस विरुद्ध सिडियोकहाँ डेलिगेशन आएर सुरक्षाको माग गरेका छन् । उक्त डेलिगेशन पछि सिडियोले यहाँको सुरक्षा फौज तैनाथ समेत गराएका छन् ।
रेसुङ्गा नगर पालिका अन्तरगत रैदी र अर्खले गाँउका २० जना महिलाहरु बाँदर आतंक विरुद्ध डेलिगेशन आई सुरक्षाको माग गरेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । पछिल्लो चरण एक महिलालाई बाँदरले झम्टीएर गम्भीर घाईते बनाए पछि गाउँका अगुवा महिलाहरु डेलिगेशन आएको बताईएको छ । घाईते महिलालाई तम्घासमा उपचार गरी पठाईएको छ ।
त्यस गाउँको वारी पारी जंगलमा करिव २ सय वटा बाँदर रहेको र उनिहरुले मकै वाली नष्ट गर्नुका साथै घर भित्र पसेर पकाएको खान समेत खाई दिने र विशेष गरी महिलाहरु प्रति बढि आक्रमण हुने गरेको बताईएको छ । स्थानिय महिलाहरु डेलिगेशन आए पछि आफुले यहाँको शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई बाँधर धपाउन पठाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
‘ त्यहाँका महिलाहरुले बन्दुक पड्काएरै बाँदर मारी दिनुहोस् , हामी असुरक्षित भयौं भन्ने माग गरेका थिए’–ढकालले भने–‘त्यसो गर्न कानुनले दिदैन भन्दीएँ र ‘साईकोलोजिकल ट्रिटमेन’का लागि मात्रै भए पनि सुरक्षाकर्मी पठाईएको हो ।’ उनका अनुसार बाँदर संरक्षित जनवरको सुचिमा परेकोले मार्न मिल्दैन् ।
शसस्त्र प्रहरी गुल्मका गुल्मपति डिएसपी टोपबहादुर बस्नेतले १६ जनाको टोली बाँदर धपाउन पठाएको बताए । वल्लो वनबाट धपायो पल्लो वनमा जाने भएकोले बाँदर नियन्त्रणमा समस्या आएको डिएसपी बस्नेतको भनाई छ ।
त्यसो त अर्खलेको लामडाँडा लगायतका स्थानमा पनि बाँदरले कृषकहरुलाई सताउँदै आएको छ । अन्य कतिपय गाउँका जंगलमा महिलाहरु प्रति बाँदर आक्रमक हुने गरेको सुनिएको थियो तर त्यस विरुद्ध सिडियो कहाँ डेलिगेशन आएको जिल्लाको यो पहिलो घटना हो ।
0 comments:
Post a Comment