बिदा ब्राजिल! चार वर्षपछि रुसमा भेटौंला

रियो दे जेनेरियो : बितेको एक महिना सारा विश्‍व फुटबलमय बन्यो। मैदानमा खेलाडीबीचको तँछाडमछाड, गोलको जोडघटाउ, कीर्तिमान बनाउने र तोड्ने होडबाजी अनि हारजितपछि खेलाडी र प्रशिक्षकले दिने तितामिठा प्रतिक्रिया, यस्तैयस्तै घटनाबीच रुमल्लियो सारा विश्‍व।
विश्‍वकप ब्राजिलमा भयो, तर यसले हजारौं माइल टाढा रहेका संसारका गाउँबस्तीलाई मजैले ततायो। राजनीतिज्ञ, विद्यार्थी, बालक, वृद्ध मात्र हैनन् हरेक पेसा र वर्गका व्यक्ति फुटबल हेर्दै निदाए अनि सम्भावित विजेताको लेखाजोखा गर्दै ब्युँझिए। खेलहरूको राजा फुटबलको विशेषता नै यही हो।
जर्मनीलाई चौथोपटक विजेता बनाउँदै आइतबार राति रियो दे जेनेरियोस्थित माराकाना रंगशालामा विश्‍वकपको २० औं संस्करण सकिएको छ। विश्‍व फुटबलको महाकुम्भ चार वर्षपछि रुसमा भेट्ने बाचा गर्दै सकिए पनि संसारभरका खेलप्रेमीमाझ यसको धङधङी अझै केही समय रहने पक्‍का छ। दक्षिण अमेरिकामा सकिएको विश्‍वकप यात्रा सन् २०१८ मा युरोपेली मुलुक रूसमा उदय हुँदा यसले आफूमा केही न केही नयाँपन थप्नेछ।
यसपटक पहिलो खेलदेखि फाइनलसम्म धेरै ऐतिहासिक घटना भए। उद्घाटन खेल आत्मघाती गोलबाट सुरु भएको थियो, त्यो पनि आयोजक राष्ट्र ब्राजिलकै टोलीबाट।
साबिक विजेता स्पेन पहिलो खेलमै नेदरल्यान्ड्ससँग ५-१ गोलले पराजित हुनु र जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७-१ गोलले हराउनु पनि अस्वाभाविक बन्यो। स्पेनले पाँच दशकपछि अन्तर्राष्ट्रिय फुटबलमा यति ठूलो हार बेहोरेको हो। समूहगत चरण पार गरेको चिली र क्वार्टरफाइनल पुगेर ऐतिहासिक उपलब्धि हात पारेका कोस्टारिका र कोलम्बियाले आफ्नो परिचय फेर्दै विश्‍वको मन जिते।
समूहगत चरणमा उत्तर अमेरिकी टोली कोस्टारिकाले दुई जित र एक बराबरी खेल्दा दुई पूर्वविजेता इटाली र इङ्ल्यान्ड पहिलो चरणबाटै घर फर्किए। नकआउट चरण पुगेका अफ्रिकी टोली नाइजेरिया र अल्जेरियाको प्रदर्शन राम्रो रह्यो।
समूहगत चरण पार गर्न नसकेका एसियाली टोलीको प्रदर्शन भने सन्तोषजनक रहेन। नयाँ खेलाडीका रूपमा कोलम्बियन युवा स्ट्राइकर जेम्स रोड्रिगुएज र स्टार स्ट्राइकरका रूपमा परिचित लियोनल मेसीले आफ्नो उचाइ बढाएका छन्। रोड्रिगुएजले सर्वाधिक गोलकर्ताका रूपमा 'गोल्डेन बुट' पनि पाए। 
जर्मनीका मिरोस्लाभ क्लोसले विश्‍वकपमा सर्वाधिक गोलकर्ताका बने। उरुग्वेका लुइस स्वारेज विपक्षी खेलाडीलाई टोकेर खेल प्रतिबन्धमा परे भने ब्राजिलका युवा स्ट्राइकर नेमारले क्वार्टरफाइनलमा ढाडको हड्डी भाँच्चिएपछि त्यसपछिका खेल खेल्न सकेनन्। -एजेन्सी


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment