साउन-१०,भक्तपुर । आगामी छ महिना भित्र लिखित संविधान जारी हुने उपप्रधानमन्त्री प्रकाशमान सिंहले बताएका छन् । बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले सरकारको ध्यान संविधान निर्माणमै केन्द्रित भएको बताए ।
“२०६४ सालको संविधानसभाले संविधान नबनाएर चार वर्ष खेर गयो, अहिले पनि छ महिना बितिसकेको छ, अब छ महिनाभित्र लिखित लोकतान्त्रिक संविधान जारी गर्नुपर्छ, सरकारको ध्यान यसमै केन्द्रित भएको छ ।” उपप्रधानमन्त्री सिंहले भने ।
उनले सरकारले छ महिनाभित्र संविधान जारी गरेर देशमा राजनीतिक स्थिरता ल्याएपछि मात्र देशको विकासमा तीव्रता आउने बताएका थिए । मुलुकमा १०४ वर्षे राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि बिपी कोइरालाले खेलेको भूमिकालाई कहिल्यै बिर्सन नसकिने चर्चा गर्दै उनले २०६४ सालमा गठन भएको संविधानसभाको माग बिपीले २०१४ सालमै गरेको स्पष्ट पारे । बिपीकै नेतृत्वमा काँग्रेसले विसं २०१४ को आन्दोलनमा भद्र अवज्ञा गरेर संविधानसभाको माग गरेको चर्चा गर्दै उनले त्यो नभएपछि २०१५ सालमा भएको संसदीय निर्वाचनमा पार्टीले दुईतिहाइ बहुमत ल्याएको बताए । उपप्रधानमन्त्री सिंहले सरकारले विदेशमा जस्तै काठमाडाँै उपत्यकालाई मेट्रोपोलिटन सिटी बनाउन उपत्यकाका सबै गाविसलाई नगरपालिका घोषणा गरी अन्तर्राष्ट्रियस्तरको सहरका रुपमा परिणत गर्ने बताए ।

0 comments:
Post a Comment