१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेसँग जोडिएको राम्चे ५ को जुरेमा खरेको पहिरोले थुनिएको सुनकोशी नदी बग्न थालेको छ । पानी भरिएपछि ओभर फ्लो भएर सुनकोशी बग्न थालेको हो ।
पानीको बहाव सामान्य नै देखिएको छ । ओभर फ्लो भएर गएको पानी एउटा छेउबाट बग्न सुरु भएको छ । पानी बग्न सुरू भएको स्थानमा नेपाली सेनाको टोलीले एउटा बम विस्फोट गराएको छ । यद्यपी अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन ।
तर, पानीको बहाव बढेमा भने तल्लो भागमा ठूलो क्षति पुर्याउने अनुमान छ । राति करिव ३ बजेतिर आएको पहिरोले नदी थुनिएको थियो । जसका कारण भोकेकोसी दोभानसम्मको नदी किनार डुवानमा परेको छ ।
८ को मृत्यु
उद्दारमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार अहिलेसम्म पहिरोमा परेका ८ जनाको शव भेटिएको छ भने १६ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये चार जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएका सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले बताए ।
उद्दार गरिएका मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अरनिको राजर्माग अवरुद्ध भएको छ । स्थानीय प्रशासनले धुलिखेलबाट सवारी जान दिएको छैन ।
प्रधानमन्त्री सुशील कोइरालाले सुनकोशी नदीको बहावलाई सावधानिपूर्वक नियमित गर्न र धनजनको क्षतिबाट बचाउन गृहमन्त्रालयलाई निर्देशन दिएका छन् ।
अपडेटः सुरक्षित स्थान खोज्दै नदी किनारका बासिन्दा
हाम्रा सहकर्मी मात्रिका पौडेलका अनुसार ताल फुटेपछि हुने सम्भावित जोखिमका कारण नदी किनारका बासिन्दा निकै हतास र तनावमा छन् । अचानकको भबितब्यले उनीहरु आफ्नो ज्यान जोगाउने धाउन्नमा छन भने ताल फुटेपछि आउने बाढीले हुने भौतिक क्षतिको चिन्तामा छन् । प्रशासनको आग्रहअनुसार उनीहरु बस्ती खाली गरेर अग्लो स्थानतिर लागिरहेका देखिन्छन् ।
काभ्रेका पूर्व जिविस सभापति सरेश नेपालका अनुसार खाडीचौर र त्यसमाथिको पाङ्ग्रेटार क्षेत्र उच्च जोखिममा छन् । त्यस क्षेत्रबाट करिव ५ हजार मानिस सुरक्षित स्थानतिर लागेका छन् ।
यसैगरि बलेसी क्षेत्रका करिव दुई हजार बासिन्दा जोखिममा छन् । उनीहरु पनि सुरक्षित स्थानतिर लाग्दैछन् । पहिरो गएको स्थानभन्दा करिव १८ किलोमिटर तलको तल्लो दोलालघाट खाली भइसक्यो । त्यसबाहेक सुनकोसी किनारका सानातिना बस्ती पनि खाली भइसकेको छ ।
रामेछापको सिट्खा बजार र वारीपारीको क्षेत्र, सिन्धुुली मुलकोट, झाँगाझोली र खाल्टे, त्रिवेणी, खुर्कोट, सेलेघाट, लुभुघाटका करिव १० हजार मानिस जोखिममा छन् ।
सिन्धुलाल्चोक क्षेत्र न १ एमाले क्षेत्रीय अध्यक्ष केशव नेपालका अनुसार सुनकोसी पहिरोले करिव ४० घर बगाएको, १० जना मानिस बेपत्ता छन् ।
अपडेटःबिष्फोटको पहिलो प्रयास असफल
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार नेपाली सेनाले ताल बिष्फोट गराउन गरेको पहिलो प्रयास बिफल भएको छ । सुकुटेमा रहेका अनलाइनखबरकर्मी मात्रिका पाैडेलका अनुसार बिष्फोट र उद्दारका लागि दुर्इ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरू अहिले सुकुटेमा बसेर समन्वय गरिरहेका छन् ।
सामाजिक सञ्जालबाट प्राप्त तस्वीरहरूः

0 comments:
Post a Comment