पहिरोले ६० घरसहित गाँवै पुरियो, डेढसय वेपत्ता


नदी फुट्यो भने २५ हजार बढी घर प्रभावित हुने खतरा

२०७१ साउन १७ गते 
मात्रिका पौडेल, (स्थलगत रिपोर्ट)
१७ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नजिकै पहिरोले सुनकोशी नदी थुनेको सुनेपछि हामी एकाबिहानै काठमाडौंबाट घटनामस्थलतर्फ हानियौं । सुरुमा सुकुटेबाटै उता जान नसकिने भन्दै सुरक्षा निकायले जान दिएन । तर, केही घण्टापछि घटनास्थल छेऊछाउ पुग्दा जेजस्ता दृश्यहरु देखिए, ती अत्यन्तै कहालीलाग्दा थिए ।
matrikaसिंगै गाउँ पहिरोमा छोपिएको छ । नदी थुनिएपछि दर्जनबढी घर पानीले डुवाइसकेको छ । स्थानीवासीका शव र घाइतेहरुलाई धमाधम निकालि रहेका छन् ।
गाउँलेहरु घर छाडेर डाँडातिर भागिसकेका छन् । सेनाले ब्लाष्टिङ गरेर नदी थुनिएको ठाउँ खोल्ने गरेको प्रयास सफल नभएपछि नदी सुनकोशी हाइड्रो पावर पनि डुवाइसकेको अवस्थामा हामी त्यहाँ पुग्यौं ।
सुनकोशी नदी थुनिएको ठाउँ काठमाडौंबाट बाह्रबीसे बजार पुग्नुभन्दा ४ कीलोमिटर अगावै रहेको छ । राम्चे गाविसको १ नम्बर र पाँच नम्बर वडाका साथै धुस्कुनमा पहिरो जाँदा नदीलाई सिंगै पहाडले थुनेको छ । हामी पुग्दा साढे ११ बजेसम्म पनि पहाडबाट पहिरो जाने क्रम रोकिएको छैन ।
स्थानीयले दिएको जानकारी अनुसार राति दुई/तीनबजेतिर ६०/७० वटा घरहरु रहेको सिंगै डाँडो घोप्टिएर नदीमा खसेपछि त्यहाँ रहेका डेढसय भन्दा बढी मानिसहरुको अवस्था अहिलेसम्म अज्ञात छ । शनिबार ११ बजेसम्म सुरक्षाकर्मी र स्थानीय उघारकर्ताले ८ जनाको शव निकालेका छन् भने १२ जनाको घाइते अवस्थामा जीवीतै उद्धार गरिएको छ । अन्यको स्थिति अहिलेसम्म अत्तोपत्तो छैन । रातिको समयमा सिंगै गाउँ नदीमा घोप्टिएका कारण हताहतीको संख्या धेरै हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । मानसहरुवीच रुवावासी छ । नगद र बोक्न सकिने सामान बोकेर स्थानीयवासीहरु भागाभाग गरिहरेका छन् । चिच्याहट र कोलाहल छ ।
पहिरो गएको सुनेर काठमाडौ.बाट गएका स्थानीयहरु सिंगै गाउँ पहिरोमा डुबेको देखेर आफन्तको वियोगले विह्वल बनेका छन् । पहिरो हेर्न जाने अन्यत्रका बासिन्दा पनि थपिइरहेका छन् । कसलार्इ के धन्दा भने जस्तो केही मानिसहरू पानी सुकेको नदीमा माछा टिप्न व्यस्त देखिएपछि प्रहरीले उनीहरूलार्इ खतराको जनाउ दिएकोसमेत देखियो ।
नेपाली सेनाले नदी खोल्नका लागि ब्लाष्टिङ गर्ने प्रयास गरे पनि सफल भएन । प्राविधिकका अनुसार बालुवा र गेगर माठो भएकाले त्यस्तोमा ब्लाष्टिङ हुन सक्दैन । चट्टानयुक्त पहाड खसेको भए पनि माटो, बालुवा र गेगरका कारण ब्लाष्टिङको प्रयास असफल भएको हो । नदीको वीचमा बडेमानको डाँडो बनेकाले तत्काल नदी खुल्ने देखिएको छैन । नदीको तल्तिर एकथोपो पानी झरेको छैन ।
नदी थुनिएपछि विहान उज्यालो नहुँदै १२/१५ घर नदीले डुबाएको डीएसपी मोहन गुरुङले जानकारी दिएका छन् । त्यहाँबाट केही मानिसहरु भाग्न सफल भए पनि अन्य हताहती पत्तो लागेको छैन । थुनिएको पानीले खोर्सानीबारीसम्म डुबानको जोखिम बढाएको छ । सानीमा हाइड्रोपावर पानीले डुबाइ सकेको छ । सुनकोशी हाइड्रो पावर र सानीमा हाइड्रोपावर दुबैमा क्षति पुग्ने देखिएको छ ।
कहाँ-कहाँ देखियो खतरा ?
थुनिएको नदी खुल्यो भने सो कोरिडोरमा रहेका २५/३० हजार बासिन्दालाई प्रभाव पार्न सक्ने देखिएको छ । यसबाट सिन्धुपाल्चोक, काभ्रे, दोलखा, ओखलढुंगा र सिन्धुलीका बासिन्दासमेत प्रभावित हुन सक्छन् । त्यस क्षेत्रमा रहेका दर्जनौं पुलहरु बग्न सक्ने भएकाले नदीको कोरिडोरमा नपरेका वस्तीमा समेत यो प्रकोपको सीधा असर पर्ने देखिन्छ । उदरपुरको घुर्मीसम्मका नदी किनारका वस्ती र खेतीयोग्य जमीन उच्च जोखिममा परेका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment