नेपाल र मलेसियावीच दुईपक्षीय सम्झौता गर्ने सहमति
५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट आफ्नो देशमा घरेलु व्यवस्थापनसम्बन्धी कामदार ‘हाउस म्यानेज वर्कर’ लैजान चासो व्यक्त गरेको छ ।
नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संशाधन मन्त्री दातुक रिचार्ड रियट जइम र नेपालका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङवीच विहीबार भएको छलफलमा मलेसिया सरकारले यस्तो प्रस्ताव ल्याएको हो । श्रम तथा रोजगार मन्त्रालयमा सवा घण्टा भएको छलफलपछि मन्त्री जइमले नेपालीहरु कामप्रति बफादार र धैर्यवान भएकाले मलेसियाको चासोमा नेपाली कामदार रहेको बताए ।
उनले त्यहाँ रहेका नेपाली कामदारको सुरक्षा र श्रम अधिकार व्यवस्थित गर्नका लागि छिट्टै दुई पक्षीय सम्झौता -एमओयू) गरिने जानकारी दिए ।
अरु देशबाट मलेसियाले घरेलु कामदार ल्याइरहेको र नेपालबाट घरेलु कामदारका रुपमा भन्दा पनि त्योभन्दा माथिल्लो स्तरको घर व्यवस्थापन सम्बन्धी काममा लैजान चाहेको उनले बताए । यस्ता कामदारको सेवा र सुविधा अरु देशका कामदारसरह नै रहने मन्त्री जईमले स्पष्ट पारे ।
नेपाल र मलेसियावीच एमओयु गर्नका लागि सहसचिवस्तरमा दुईवटा समिति निर्माण गरिने श्रम तथा रोजगार राज्य मन्त्री गुरुङले जानकारी दिए । सामान्य कामदारका समस्या र मलेसियाले लैजाने भनेका ‘हाउस म्यानेज वर्कर’ को समस्या सम्बोधन तथा व्यबस्थापन गर्न छुट्टाछुट्टै संयुक्त समिति बनाईने उनको भनाइ छ ।
समितिले मस्यौदा तयार पारेपछि दुई देशका सचिवस्तरमा छलफल भई दुई महिनाभित्र एमओयु हुने गुरुङले जानकारी दिए ।
नेपालले मलेसियामा घरेलु कामदार पठाउन चासो व्यक्त गर्दै आइरहेको सन्दर्भमा मलेसियाले घरभित्रका सबै खालका काममा महिला र पुरुष दुबैखालका नेपाली कामदारलाई व्यवस्थित तरिकाले लैजान चाहेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले जानकारी दिए ।
कामदारको संख्याको विषयमा भने अहिले छलफल नभएको खड्काले बताए । अहिले मलेसियामा झण्डै पाँच लाख नेपाली कामदार छन् ।
0 comments:
Post a Comment