गुल्मीमा झण्डै दुई करोडको कफी उत्पादन


   प्रेम सुनार
गुल्मी, साउन– २२ । आर्थिक वर्ष २०७० ÷०७१ को असार मशान्त सम्म गुल्मी जिल्लामा झण्डै दुई करोडको कफी उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयले तयार पारेको विवरण अनुसार गत वर्ष  कुल ३ लाख ४४ हजार किलो कफी उत्पादन भएको छ ।
     कृषकले पाउने निर्धारित मुल्य प्रति किलो ५५ रुपैयाँका दरले कुल १ करोड ८९ लाख २० हजार रुपैयाँको कफी उत्पादन भएको सो कार्यालयका सो क्षेत्र हेर्ने प्राविधिक सहायक दोमलाल भुसालले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो उत्पादन न्युन प्रतिशतले बढि छ घटेको छैन् ।
      भुसालले तयार पारेको विवरण अनुसार जिल्लाको कुल १ सय ५५ हेक्टर कफी उत्पादन क्षेत्र मध्ये उत्पानशिल ९१ मा हेक्टरबा उक्त परिणामको कफी उत्पादन भएको हो । अघिल्लो आर्थिक वर्षमा  कफीको सत्रु मानिने सेतो गवारोले सताए पछि कृषकहरु निरुसाहित थिए तर गत वर्ष त्यसको निराकरण भएकोले उत्साहजनक कफी उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी बताउँछन् ।
   उनका अनुसार कफी पकेट क्षेत्र तोकेर कृषकहरुलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रमहरु कृषि विकास कार्यालयले सञ्चालन गरेको छ । कृषकहरुको घरमा उत्पादित झण्डै ४ लाख किलो  ‘राईट चेरी’ (नसुकाएको र वोकै सितको )  कफी ल्याई सुकाउने र बोक्रा फाल्ने गरे पछि कुल ८६ मेट्रिक टन भएको भुषालले बताए ।
     जसालई ड्रई चेरी भन्ने गरिन्छ ।  उनका अनुसार गुल्मीको कफी उत्पादनको उत्गम थलो आँपचौरमा गत वर्ष सवै भन्दा बढि पाँच हजार किलो कफी उत्पादन भयो । त्यसैको हाराहारीमा रुरुमा पनि झण्डै पाँच हजार किलो उत्पादन भयो ।
    वलेटक्सार र दिगाममा  प्रति गाविस  ४४ सय किलो, थानापति र ग्वादीमा प्रति गाविस ३९ सय किलो, हर्दिनेटामा ३३ सय किलो, हुँगा र रिमुवामा प्रति गाविस २८ सय किलो, अस्लेवा, पल्लीकोट, घमिर,  विरवास अर्जै र दरवार देविस्थानमा प्रति गाविस २२ सय किलो उत्पादन भएको छ । पराल्मी, तुराङ्ग, जुभुङ्ग,  वाग्ला र जैसीथोकमा प्रति गाविस १७ सय किलो उत्पादन भएको छ ।
    त्यस्तै मुसिकोट, अमरपुर खज्र्याङ्ग, नयाँगाउँ, सिमीचौरमा प्रति गाविस ११ सय किलोका दरले उत्पादन भएको छ । एक हजार किलो भन्दा कम उत्पादन हुने अन्य ३६ वटा गाविसमा व्यवसायीक खेती उत्पादन सुरु भएको र जिल्लाका लगभग ७९ वटै गाविसमा कफी खेतीलाई  घर बगैचाको शोभाका रुपमा मात्रै भए पनि विरुवा हुर्काउने काम भएको प्राविधिक सहायक भुसालले बताए ।
    उनका अनुसार जिल्लाका कुल ११ वटा सहकारी संस्था मार्फत कफी संकलन भई प्रशोधन केन्द्र जोहाङ्ग खैरेनी  पठाईन्छ र कफी तयार गरिन्छ । त्यसो त यसै वर्ष देखि गुल्मीमा फेरी अर्को कफी प्रशोधन केन्द्र बलेटक्सारमा स्थापना भएको छ ।  जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष निलकण्ठ गौतमका अनुसार सो संस्था मार्फत संकलन हुने ८ सय टन कफी यसै वर्ष देखि वलेटक्सारमा प्रशोधन गरी कोरियाली बजारमा पठाईयो ।
   ‘प्रशोधन गर्दा ७ टन बस्छ गौतमले भने–‘ कोरियाको ब्युटीफुल स्टोर संग वर्षिक ५ टनको सम्झौता भएको छ , उसलाई आवस्यकता भए  सातै टन लैजान्छ नपरे हामी आफै घरेलु  वजारमा पुराउछौं । ’ वलेटक्सार मैं कफी प्रशोधन केन्द्र स्थापन भए पछि त्यहाँका कृषक कफी उत्पादनमा थप उत्साहित भएको गौतमले बताए ।
    गत वर्ष नै वलेटक्सारमा देश मैं पहिलो पटक कफी अनुसन्धान केन्द्रको स्थापना भए पछि जिल्लाभर कैं कृषकहरु कफी खेती प्रति आकर्षित भएका छन् । सरकारका मुख्य सचिव लिलामणी पौड्यालले शुभारम्भ गरेको केन्द्र वलेटक्सार–१ को भण्डाराडाँडामा १ करोड २८ लाखमा स्थापना भएको हो ।
   त्यस्तै कफी संकलन , व्यवस्थापन र विक्रि–वितरणमा सुरु देखि नै अगुवाई गरेको जिल्ला सहकारी बहुउद्देश्यीय सहकारी संघ गुल्मीले  गत वर्ष  ३० टन कफी संकलन गरी प्रशोधन पछि  घरेलु वजार र अन्तराष्ट्रि वजारमा पुराएको संघका उपाध्यक्ष शेषकान्त गौतमले बताए । उनका अनुसार ३० टन ड्राईचेरी प्रशोधन गर्दा गत वर्ष १५ टन कफी उत्पादन भएको थियो ।
   सो संस्थाका प्रवन्धक युवराज आर्चायका अनुसार १० टन कफी अन्तराष्ट्रिय बजारमा सरदर प्रति किलो सात सयका दरले  पठाएर ७० लाख रुपैयाँ गत वर्ष भित्राईएको छ भने ५ टन घरेलु बजारमा न्युतम प्रति किलो ६ सयका दरले ३० लाख रुपैयाँ सहित कुल एक करोड त्यस संस्थाले व्यापार गरेको छ । संघका उपाध्यक्ष गौतमका अनुसार जापान र अष्ट्रलियामार्फत  संघले  अन्तराष्टिय« वजारमा गुल्मीको कफी पुराउने गरेको छ  ।
  उनको संस्थाले नै गुल्मीको कफीलाई २०५३ साल देखि व्यवसायीक बनाउँदै अन्तराष्ट्रिय बजार सम्म पुराउने काम गरेको हो । सो संस्था कै पहलमा पहिलो पटक जोहाङ्गको खैरेनीमा कफी प्रशोधन केन्द्र स्थापना गरी   कोरयाको ब्युटीफुल स्टोर मार्फत अन्तराष्ट्रि वजारमा पुराएको थियो । उसैको उत्प्रेरणाबाट जिल्लामा क्रमशः गाउँ–गाउँमा पनि कफी सहकारी संघहरु स्थापना हुदै गएका हुन् ।
   अहिले स्वदेशका प्रायः सवै शहर र अन्तराष्ट्रिय बजार सम्म निकै चर्चा पाएको गुल्मीको कफीको कुरा गर्नु पर्दा  आँपाचौरका हिरा गिरीलाई स्मरण गर्नै पर्ने हुन्छ । जसले सन १९९० को दशकमा वर्माबाट वेर्ना ल्याई पहिलो पटक गुल्मीमा कफी खेतीको सुरुवात गरेका थिए ।
    उनले विजारोपण गरेको कफी खेतीलाई व्यवसायीक बनाउनमा आँपचौर कै पारश्वर खरेलको देन रहेको छ ।  उनको व्यवसायीक खेतीको चर्चा तत्कालिन नारायणहिटी दरवारमा पुग्यो । २०४० सालमा तत्कालिन राजा विरेन्द्र सिधै हेलिकप्टर उनै कफी कृषक खरालको वारीमा ल्याण्ड गर्ने गरी आए ।
   उनले अन्य कृषकहरुलाई पनि प्रोत्साहित गर्ने गरी आँपचौरमा सिंचाई योजना पारी दिए । राजा विरेन्द्रको त्यो कदमले आँपचौरको कफी निकै मौलायो । तर त्यहाँका कृषकहरुले सिंचाई योजनाको दोहरो फाईदा लिन खोजेर त्यहाँको बारीलाई पनि खेत बनाउन थाले ।
   त्यसले कफी खेतीमा केहि नकरात्मक असर समेत पारेको तत्कालिन अवस्थामा गुल्मीको जिल्ला कृषि विकास कार्यालयको कर्मचारी रहेर त्यहाँको कफीलाई वजार व्यवस्थापन गरेका र हाल गृह मन्त्रालयका शाखा अधिकृत रहेका रामचन्द्र पन्थी वताउछन् ।
   उनले भने–‘ राजा विरेन्द्र आँपचौरको कफी खेती अवलोकन भ्रमण आउँदा म कृषि विकास कार्यालय गुल्मी मैै थिए, राजा विरेन्द्रको भ्रमणले आँपचौरमा कफी खेतीले व्यवसायीक रुप लिएको  हो र त्यसमा तत्तकालिन कृषि विकास कार्यालयका प्रमुखको पनि ठुलो योगदान रहेको थियो । ’
   उनले थपे–‘ त्यस वेला गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत पोखराका वेदकुमार श्रेष्ठ हुनुहुन्थ्यो उहाँले नै पहिलो पटक गुल्मीको कफी खेतीको सम्भावनावारे एउटा गतिलो कृति प्रकाशन गरेर  देशैभर चर्चामा ल्यानु भएको थियो, जुन अहिले पनि त्यस कृषि कार्यालयमा  हुनुपर्छ । ’

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment