लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन

आफैं खर्च गर्नेलाई फर्काउने तयारी, बोर्डले खर्च दिन मानेन

२०७१ साउन २३ गते 
libiya-map
२३ साउन, काठमाण्डौ । द्वन्द्वग्रस्त उत्तरअफ्रिकी मुलुक लिबियामा कार्यरत करिव दुई सय नेपालीले आफूहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । अवैधरुपमा उनीहरु त्यहाँ पुगेको भन्दै बैदेशिक रोजगार प्रर्वद्धन बोर्डले उद्धारमा खर्च गर्न अस्वीकार गरेको छ ।
लिबियाको सिर्त शहरस्थित एक कोयरियन कम्पनीमा कार्यरत १२६ जना नेपाली कामदार यतिखेर उद्धारको पर्खाइमा होस्टलमा बसिरहेका छन् । द्वन्द्व चर्किदै जाँदा कोरियन कम्पनी भागेपछि आफुहरु अलपत्र परेको त्यहाँ रहेका बिष्णु तामाङले बताए ।
‘आइतबारसम्म होस्टल छाड्न भनिएको छ तर, अहिलेसम्म पनि कसरी फर्किने भन्ने टुंगो छैन’ तामाङले बिहीबार साँझ अनलाइनखबरसँग टेलिफोनमा भने । उद्धारका लागि इजिप्टस्थित नेपाली राजदूतावासमा निरन्तर दबाव दिए पनि अहिलेसम्म ठोस जवाफ नआएको उनले बताए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्रिपोली बाहिरका शहरहरुबाट उद्धारको माग गर्दै नेपालीहरुले कायरोस्थित दूतावासमा सम्पर्क गरिरहेका छन् । अहिलेसम्म करिव २ सय नेपालीले दूतावासमा सम्र्पक गरी उद्धारको अनुरोध गरेको भन्दै कायरोस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
लिविया अन्तराष्ट्रिय हवाइ सम्बन्धबाट विच्छेद भएकाले अब उनीहरु छिमेकी मुलुक ट्युनिसिया हुँदै नेपाल र्फकनुपर्ने हुन्छ । कामदारलाई सुरक्षितरुपमा ट्युनिसिया पुर्‍याउन नेपाल र लिबिया सरकारले सुरक्षालगायतका प्रबन्ध गरिदिनुपर्ने हुन्छ, जुन कायरोस्थित नेपाली राजदूतावासको संलग्नताविना सम्भव छैन ।
बिद्रोहीको भिषण आक्रमणसँगै लिबियामा कार्यरत विदेशी कम्पनीहरु धमाधम बन्द भइरहेका छन् । अन्तराष्ट्रिय हवाइ उडानसमेत बन्द भएका छन् भने छिमेकी भारतसहित बिभिन्न मुलुकले त्यहाँ कार्यरत आफ्ना कामदारलाई उद्धार गरिरहेका छन् ।
लिबियाबाट नेपाल र्फकन चाहने नेपालीको संख्या यकिन गरी पठाउन कायरोस्थित दूतावासलाई निर्देशन दिइसकिएको परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले बताए । ‘उनीहरुलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा छलफल गर्दैछौं’ अधिकारीले भने ।
बोर्डले भन्यो- पैसा खर्च गर्न सकिन्न
कायरोस्थित नेपाली दूतावासले लिबियामा अलपत्र परेका दुई सय नेपालीलाई उद्धारका लागि सहयोग गर्न नेपाल बैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई आग्रह गरे पनि बोर्डले इन्कार गरेको छ ।
हवाइ टिकट दिएर उद्धार गर्न करिव डेढ करोड रुपैयाँ खर्च हुनसक्ने हिसाबसमेत दूतावासले बोर्डमा पठाएको थियो । तर, बोर्डले गैरकानुनीरुपमा गएका नेपाली कामदारलाई उद्धार गर्न यति ठूलो रकम खर्च गर्न नसकिने जवाफ दिएको छ ।
विदेश जाने हरेक कामदारले तिर्ने १ हजार रुपैयाँ प्रर्वद्धन शुल्कवापत अहिले बोर्डमा करिव ४० करोड रुपैयाँभन्दा बढी पैसा छ । जसको उपयोग विदेशमा मृत्यु भएका र अंगभंग भएका नेपाली कामदारको परिवारलाई क्षतिपूर्ति दिन खर्च हुँदै आएको छ ।
आफ्नै खर्चमा फर्किनेलाई सहजीकरण गरिने
एकैचोटि उद्धार गर्दा ठूलो रकम खर्च हुने र बोर्डले पैसा खर्च गर्न नसक्ने जवाफ दिएपछि परराष्ट्र मन्त्रालयले यतिखेर आफ्नै पैसामा र्फकन सक्नेलाई फर्काउने नीति लिएको छ । ‘कोरियन कम्पनीमा काम गरेका अधिकांशले तलव पाएको हुनाले उनीहरु नेपाल र्फकन टिकट किन्न सक्ने अवस्थामा छन् । उनीहरुलाई सुरक्षित रुपमा कसरी ट्युनिसियासम्म ल्याउने भन्नेबारे लिबिया सरकारसँग कुरा भइरहेको छ’ परराष्ट्र स्रोतले भन्यो ।
‘आफैंले टिकट किन्न सक्नेलाई अहिले पनि कायरो दूतावासले सहजीकरण गर्दै ट्युनिसिया ल्याइरहेको छ’ परराष्ट्र स्रोतले भन्यो-’एकैचोटि ल्याउन खर्चको प्रबन्ध मिलाउन गाह्रो भएपछि उनीहरुकै पैसामा सानो सानो समूहलाई फर्काइरहेका छौं ।’
कसरी पुगे लिबिया ?
गृहयुद्ध सुरु भएपछि सन् २०१२ मा त्यहाँ कार्यरत करिव २ हजार नेपाली कामदारलाई नेपाल सरकारले खर्च ब्यहोरेर उद्धार गरेको थियो । लिबिया गृहयुद्धमा फस्दै गएपछि सरकारले त्यहाँ नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । तर, प्रतिबन्ध लाग्दालाग्दै पनि गद्दाफी शासनको पतनपछि नेपाली कामदारहरु भारत र खाडी मुलुकको बाटो हुँदै लिबिया पुगेका हुन् ।
‘कतिपय त दुई तीन महिना पहिले पनि त्यहाँ पुगेका भेटिएका छन्’ परराष्ट्र स्रोतले भन्यो- नेपालबाट भारतको बाटो हुँदै गएका धेरै छन् भने दुबई, कतारलगायतका मुलुकमा कार्यरत नेपालीहरु बढी पैसाको लोभमा त्यहाँ गएका रहेछन् ।’
दलालमार्फत् सेटिङ मिलाएर जाने यस्ता नेपालीले करिव ३ लाख रुपैयाँ खर्च गरेका हुन्छन् । अदक्ष कामदारले पनि औसत ४ सय अमेरिकी डलर तलव पाउने भएपछि खाडीमा काम गरिरहेका नेपाली कामदारहरु त्यहाँ जान लोभिने गरेका थिए ।
लिबियामा करिव ५ सय नेपाली कामदार अवैधरुपमा कार्यरत रहेको अनुमान गरिएको छ । जसमध्ये केही पछिल्लो संर्घष सुरु हुँदाहुँदै नेपाल फर्किइसकेका छन् ।
सिरियामा पनि नेपाली कामदार
दुई वर्षदेखि गृहयुद्धमा फसेको सिरियामा पनि नेपाली कामदार कार्यरत रहेको पाइएको छ । कायरोस्थित दूतावासमा अहिलेसम्म करिव १२ जना नेपाली महिला कामदारले सम्र्पक गरी उद्धारका लागि आग्रह गरेका छन् ।
त्यसमध्ये ६ जनालाई नेपाल फर्काइसकिएको छ भने अन्य फर्किने क्रममा छन् ।
एउटै प्याकेज बनाउँदै छौं- प्रवक्ता
परराष्ट्र मन्त्रालयका प्रवक्ता अधिकारीले लिबिया, सिरिया र इराकमा कार्यरत नेपाली कामदारको उद्धारका लागि प्याकेजमै समाधान खोजी भइरहेको बताए । ‘इराकमा पनि सरकारका विशेष प्रतिनिधि गएका छन्, उनले प्रतिबेदन दिएपछि हामी एकीकृत समाधानको प्रकृयामा लाग्नेछौं’ अधिकारीले भने ।
इराकमा द्वन्द्व चर्किदै गएपछि त्यहाँका नेपाली कामदारको अवस्थाबारे जानकारी लिन परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई विशेष प्रतिनिधिका रुपमा इराक पठाइएको छ । हाल इराकमा रहेका मैनालीले केही दिनमै नेपाल फर्किएर मन्त्रालयसमक्ष प्रतिवेदन बुझाउने छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment